~रमेश सुवाल~
तिम्रो छातीमा ब्रिटिस बुट बज्रेको बेला,
‘स्वतन्त्रताको लडाइँ’ लड्ने
तिम्रा जर्ज वाशिङ्गटनहरु,
तिम्रा जेफर्सनहरु,
तिम्रा ह्यामिल्टनहरु,
आतङ्ककारी थिए या देशभक्त?
क्रान्तिकारी थिए या मानवअधिकारविरोधी?
बेलायती साम्राज्यले
तिम्रो देशलाई नाकाबन्दी लगाएको भए,
‘दुष्टहरुको मण्डली’ भन्दै तिम्रो खेदो खनेको भए,
तिम्रा नेेतालाई मार्दै, षड्यन्त्र गर्दै
आक्रमणको बारम्बार धम्की दिएको भए,
भन तिमी लाचारीपूर्व शीर झुकाउँथ्यौ
या ‘स्वतन्त्रता या मृत्यु’ को नारा घन्काउँथ्यौ?
तिम्रा वाशिङ्गटनलाई
ह्वाइट हाउसमै एलेण्डे बनाइएको भए,
लुक्दै लडाइँ लड्ने
तिम्रा जेफर्सनलाई
अमेरिकाकै कुनै सिर्तमा
गद्दाफी बनाइएको भए तिम्रा ह्यामिल्टनलाई
मिलोसेभिचसँगै कुनै अँध्यारो गोलघरमा राखेको भए
अथवा
कुनै बङ्करमा लकाइराखेको भए
तिम्रो देशका साम हुस्सेनहरुलाई समात्दै
फाँसीमा चढाइएको भए
भन तिमी खुशीले रमाउन सक्ने थियौ?
तिम्रो देशका मिलोसोभिचलाई जेलमा राख्दा
तिम्रो अपमान हुन्छ भने
अरुको ह्यामिल्टनलाई किन थुन्छौ?
तिम्रो देशका गद्दाफीलाई मार्दा
तिम्रो स्वाभिमान गिर्छ भने
अरुका जेफर्सनलाई किन मार्छाै?
तिम्रा एलेण्डेलाई ह्वाइट हाउसमा घेरा हाल्दा
तिम्रो सार्वभौमिकता गुम्छ भने
अरुका वाशिङ्गटनलाई किन घेर्छाै ?
(स्रोत : मजदुर दैनिक)