~लक्ष्मण श्रेष्ठ~
भास्कर बहुलायो।
यो दुई अक्षरको खबरमा एक हजार भोल्ट करेण्ट थियो सायद। सुनेदेखि मेरो दिमाग रन्थनाइरहेछ।
खबर बिहानै विश्वविद्यालयको क्यान्टिनको टेबलमा पुगिसकेको थियो। क्लास भेटाउन विद्यार्थीहरु हतरपतर दौडदै गर्दा खबर त्यो भन्दा अघि–अघि थियो। गेटदेखि कक्षाकोठासम्म सर्वत्र भइसकेको थियो– ‘भास्कर बहुलायो’। विश्वविद्यालयको विशेषता हो यो कुनै एफएम रेडियोको आवश्यकतै पर्दैन खबरहरु तरंगको घोडा चढेर वायुको बाटो गरी कान कानसम्म पुगिरहेका हुन्छन्।
हामी क्यान्टिनमा चिया पिउँदै थियौं। ‘च्याचु’ विश्वविद्यालयको परिसरमा चर्चित शब्दावली हो। कुनै डिक्सनरीमा नअटाएपनि यसको अर्थ नबुझ्ने को नै पो होला र? ‘च्याचु’ अर्थात चिया र चुरोट। क्यान्टिनमा ‘च्याचु’ चल्दैथियो। अघि नै आइपुगेको खबरले अस्तित्व प्रदर्शन गरिहाल्यो।
“मित्र हो त्यो भास्कर त खुस्केछ नी”, आरसीले विषय उद्घाटन गर्यो।
“यसपाली त्यसैको पालो हो भन्ने मलाई उहिल्यै थाहा थियो”, एसबीले यसरी भन्यो मानौं पागल हुनेहरुको लिस्ट पहिलेदेखी नै उसको डायरीमा अङ्कित छ।
“यो कुरा अलि मिलेन एसबी सर। यो त कोलम्बस अमेरिका पुगेपछि जाँबो अमेरिका त्यही त थियो भन्ने टाइपको भयो”, आरसीले आपत्ति जनायो। जवाफमा एसबीले उसलाई बेवास्ता गरिदियो।
अंग्रेजी विभागमा वर्षेनी कोही न कोही पागल हुन्छ। मानौं यो एउटा रित हो वा चलिआएको प्रथा हो। यसपालि भास्कर बहुलायो।
खबर सुनेदेखि मलाई एउटा अनौठो भावनाले समातेको छ। एउटा विरक्ति जस्तो। एउटा विषादजस्तो। आँखामा झलझली आइरहेछ भास्करको पातलो काया। कालो दार्हीले ढाकिएको उसको अनुहार। खोपिल्टा परेका आँखा। चुच्चो परेको गाला। खुब बोल्नुपर्ने उसलाई। खुब। आएदेखि म अलि बढी नजिकिएको थिएँ उसँग। ‘दोस्त’ भन्दै धाप मार्दै आउँथ्यो। कीर्तिपुरको कोठादेखि विश्वविद्यालयको गेटसम्म साँझपख गस्ती लगाउनु त हाम्रो दिनचर्या नै भएको थियो। मानौं पाठ्यक्रममा त्यो अतिरिक्त क्रियाकलाप पनि जोडिएको थियो। घुम्नु के थियो? त्यही भास्करको बकबक सुन्नु त थियो। बाफ रे कति बोल्नुपर्ने उसलाई? मार्क्सदेखि किन्ससम्म। फ्रायडदेखि युंगसम्म। जेनोफेनादेखि डेरिडासम्म। उसको हरेकदिनको भाषणमा कहिल्यै छुट्दैनथ्यो। त्यही भास्कर अहिले बहुलाएको खबर विश्वविद्यालयको वायुमण्डलमा ‘हट न्युज’ बनेर प्रवाहित भइरहेथ्यो।
“ऊ आयो भास्कर”, एसबीले औंल्यायो। नभन्दै क्यान्टिन आउने बाटोमा उसको पातलो काया देखापर्यो। तर सँधैंभन्दा फरक थियो उसको ड्रेसअप। सर्टलाई पाइन्टभित्र घुसारेर चिटिक्क परेको थियो। प्रायः त टिसर्टमै हुन्थ्यो। त्यसमासथ पालिस लगाएर टल्काइएको कालो जुत्ताले उसको व्यक्तित्वमा नयाँ रंग भरिरहेथ्यो।
‘दोस्त’ सँधैंको शैलीमा क्यान्टिन छिर्नासाथ पुकारिहाल्यो।
“ओहो दोस्त हामी तपाईंकै पर्खाइमै थियौं”, आरसी बडो उल्लासित मुद्रामा प्रकट भयो। तर वातावरणमा एउटा अत्यास प्रवेश गरिसकेको सबैको अनुहारमा झल्किन्थ्यो। किनभने भास्कर बहुलाइसकेको थियो। चतुर आरसीले मौसमलाई आफ्नो पकडमा राख्ने उपक्रम सुरु गरिहाल्यो।
भास्करले मौनताले जवाफ दियो। यो परिवर्तनको पहिलो सङ्केत थियो। मौनता भास्करको डिक्सनरीमा हिजो बेलुकासम्म थिएन। मौनता र भास्कर विपरीतार्थ प्रतीत हुन्थे। तर आज बिहानै उसको मौनताले परिवर्तनको झल्को दिन्थ्यो।
“दोस्त आज त पूरा नयाा रुपरंगमा हुनुहुन्छ त। विशेष कुरा गुप्तरुपमा प्रकट भइरहेछ भन्ने हाम्रो अनुमान छ।”, एसबीले कुरा कोट्यायो। यतिबेलासम्म चियाका कपहरु टेबलमा आइसकेका थिए। अर्को जे थियो त्यो भन्नैपरेन।
“तर यो जो दार्ही छ। यसमा केही विशेष छ।”, एसबीको कुरामा पाइन लगाउन थाल्यो आरसीले। “बडो गम्भीर अर्थले यो दार्हीमा बास गरिरहेको छ भन्ने हाम्रो तीव्र अनुमान छ। भास्कर जी साम्यवादी हुनुहुन्छ तर दाह्री अब्राहम लिंकनसँग म्याच खान्छ। मतलब कम्युनिज्म र डेमोक्रेसीको यो फ्युजन जो छ त्यसमा गम्भीर अर्थ छ।” आरसीले दार्हीको फिलोसपी खोतल्न थाल्यो।
अचम्म त के भने यत्रो बहसको सृजना हुँदासम्म पनि भास्करको ओठबाट शब्दको कुनै संकेत देखापरेको थिएन। यो आठौं आश्चर्य मात्र होइन नवौं र दशौं पनि हो भन्ने मलाई तीव्र बोध हुन लागिसकेको थियो।
मौनतामाथि मौनता थपियो। हामीसँग पनि कुनै शब्दहरु थिएनन्। भास्करको अनुहार हेर्दैै थिएँ म। उ एकोहोरो चिन्तनमा मस्त भएजस्तो देखिन्थ्यो। साँच्ची नै पागल भएको हो त? मेरो मनको कुनै कुनामा प्रश्न जागृत भइरहेथ्यो। तर समयको केही क्षणमै मेरो शङ्का भ्रम सावित भइदियो।
मौन बसिरहेको भास्कर जुरुक्क उठायो। उसको मुखबाट एक विचित्र किसिमको आवाज निस्कियो। हामी ऊसतर्फ केन्द्रीकृत भयौं। उसले सर्टलाई स्वाटसुट्ट पाइन्टभित्रबाट थुत्यो। र चियाको कप घोप्ट्यायो। अनुमान गर्न पनि नभ्याउँदै भएको यो घटनामा हाम्रो भूमिका एक सच्चा दर्शकमा सीमित भइदियो। म केही बोल्न खोज्दैथें तर मुखबाट आवाज नै निस्केन। के बोल्न खोज्दैथें सायद मलाई नै थाहा थिएन। आरसी र एसीबी पनि अप्रत्यासित घटनालाई झेल्ने कुनै आइडिया खोज्न सकिरहेका थिएनन्।
“के यही हो अस्तित्व? सर्ट, पाइन्ट हो अस्तित्व? मेरा मित्रहरु यस्ता छन् यिनलाई देख्दा मलाई लाज लाग्न थालेको छ। हिजोसम्म भास्कर टिसर्ट लगाएर आउँथ्यो आज सर्ट पाइन्ट लगाएर आयो। के भास्कर फेरियो? साथी हो अस्तित्व भनेको नाङ्गो हुन्छ। एक्चुयल्ली एक्जीस्टेन्स इज न्याकेड इटसेल्फ। कुनै पनि कपडाले अस्तित्वको नाङ्ग्ाो स्वरुप ढाक्न सक्दैन।” भास्करले हाउभाउसहित भाषण सुरु गर्यो। सिंगो क्यान्टिनमा मेला लाग्न थाल्यो। स्थितिले जात्राको रुप लिन थालेपछि एसबीले चलाखी अपनायो।
“हिडौं भास्कर बाहिरतिर गएर गफ गरौं”, कुन्नि के थियो एसबीको बोलीमा भास्कर खुरुक्क निस्कियो। तर बोल्न छोडेको थिएन।
“मार्क्सको डायलिटिक मेटेरिलिज्मले लाइफ बनाउन सक्छ कि सक्दैन? मलाई त लाग्छ डेरिडाले भनेजस्तै जीवनको पनि विनिमार्ण हुन्छ। हामी जीवन बनाउने भन्छौं। तर जिन्दगी छिनछिनमा विनिर्माण भइरहन्छ। अब म जीवनको विनिर्माणको सिद्धान्त बनाउँछु। त्यो नित्सेलाई के थाहा छ? मुला मान्छेले सामान्य भएर बाँच्नुहुँदैन रे। महामानव हुने रेे? खुब। ड्यामफूल सब झुर कुरा हो। मान्छेको जीवन भन्ने हँुदैन। यो त पलपल मर्छ पलपल जन्मिन्छ। तपार्इंले हिजो देखेको भास्कर र आजको भास्कर एउटै होइन। मर्यो त्यो भास्कर, हिजोको भास्कर। यो भर्खरै जन्मिएको भास्कर हो। बिचरा त्यो भास्कर मर्यो त्यो। मर्यो। बाउको सपना देख्ने भास्कर। आमाको सहारा। बहिनीको आशा। हि वाज डेड ड्युड। यो भर्खरै जन्मिएको भास्कर हो। एक नयाा दार्शनिकको जन्म भइसकेको छ साथी हो। अब तिमीहरुले कोर्समा नयाा थ्योरी पढ्नुपर्नेछ।” भास्कर यस्तरी बोलिरहेथ्यो जहाा अरु बोल्ने कुनै छेउकुना थिएन।
तैपनि मुख खोलें मैले, “अनि त्यो प्रेम गर्ने भास्करको के हाल छ नि?”
प्रश्नमा केही गम्भीरता थियो सायद। गम्भीर बन्यो भास्कर। मेरो मनमा निलमको अनुहार दौडिन थाल्यो। क्लासकी पढ्ने केटीमा गनिने निलम भास्करकी मनपर्ने केटी थिई। तर उसले कुनै मतलब गरिन। भास्कर त भन्थ्यो, प्रेम गरेपछि हुन्छ। अहिले मेरो प्रश्नले उसलाई गम्भीर बनाइरहेथ्यो।
“त्यो पनि मर्यो। दोस्त प्रेमको सौन्दर्य वियोगमा हुन्छ। ट्रयाजेडी इज द ब्युटी अफ लभ।” एकाएक भास्करले जवाफ पोख्यो। एउटा गहिरो विषादले उसको मनमा बास गरेको थाहा लाग्थ्यो।
“लौ दोस्तो। म हिंडे। नयाँ फिलोसफीको निम्ति केही गर्नु बाँकी छ।”, बकबक गर्दै हिंड्यो भास्कर। हामीले रोक्न पनि सकेनौं।
“हैन मित्र हो यो किन यसरी बहुलायो?”, आर सी गम्भिरता तर्फ जान खोज्यो।
“यो हाम्रो विभागको रित हो साथी हो”, एस बीले बुज्रुक्याँई छाँट्यो।
“आखिर किन त यो रित?”, आरसीले फेरि कोट्यायो।
“किन नबहुलाउने त आखिर?”, मलाई अघिदेखि झोंक चलिरहेथ्यो चिच्याएा म। आवाज अलि चर्को नै भएछ क्यारे वरिपरि उभिइरहेका केटाहरु सबै हामीतिर फर्किए।
“किन नबहुलाओस्? बा बिरामी छन्। घरमा पैसा छैन। आमाले कसरी पो पठाउन् र? बाउको सानो पेन्सनले कहाा कहाा थेग्छ? उसले जागिर खोज्यो कतै पाएन। एउटा इन्स्टिच्युटमा पढाएको पैसा उठाउनै चार महिना लाग्यो। दुई महिनादेखि कोठा भाडा तिर्न सकेकेा छैन। आफूसँगै एसएलसी दिएको साथीले अरब गएर घर बनाइसक्यो। तल्ला घरकी राम्रीको पनि बिहे भइसक्यो। गाउँ गयो सबैले सोध्छन् काठमाडौंमा के गर्दैछस् आफ्नो ताल छ यस्तो। क्याम्पस आयो ठूला ठूला कुरा सुन्यो। नित्सेको अस्तित्व। मार्क्सको डायलेक्टिज्म। फ्रायडको साइकोएनाइलाइसिस। डेरिडाको विनिर्माण। अनि…………अनि कोठामा पुग्दा जीवनको विनिर्माण भइरहेको हुन्छ। रित्तो बाल्टी मुख बाएर बसेको हुन्छ। ग्याँसको सिलेण्डरले खल्ती छामिरहेको हुन्छ। तरकारीको भाँडाले खिल्ली उडाइरहेको हुन्छ। साला त्यहिबेला घरबेटी पैसा माग्न आउँछ। यस्तो लाइफ छ नबहुलाएर के गर्ने हा? के गर्ने? मलाई त लाग्छ अब बहुलाउने पालो हाम्रो हो। बुझ्यौ? भन कहिले बहुलाउने हो हामी???”
२०७० भदौ २८ शनिबार दिउँसो १२ः५१ ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)