~दिव्य गिरी~
मोडमा आँखा जुधेपछि
मुटुको ढुकढुकी अझ बढेपछि
मनभित्र मायाको भुल्का उठेपछि
छातीभित्र पिरतीको ज्वाला सल्केपछि
तिम्रो तस्बीर
दिन-रात सजाएकै हो आँखामा
र तिम्ले हाँसिदिँदा मात्र पनि
छातीभित्र भुर्इंचालो जाँदा
मनको शान्त तलाउमा
ज्वार-भाटा उर्लेकै हो
अनि डुब्लाडुब्लाझैँ भएकै हो
मायाको जहाज पिरतीको सागरमारमा !
कति नै टाढा थियौ र तिमी
मेरो सम्झनाको आँगनबाट
कति नै बेखवर थियौ र तिमी
मेरो मुटुको ढुकढुकीको स्पन्दनबाट
राखेकै थिएँ नजर वरिपरि
बसाएकै थिएँ मुटुको छेउछाउ
र सुम्सुम्याएकै थिएँ
गुँरासे गाला र सुन्तले ओंठ
जब तिमी मेरी भयौ प्रिय !
अनि बाँकि के नै रहृयो र प्रिय ?
हामीलाई छेक्ने पर्खाल कहाँ उभियो र ?
समागमको निम्ति लठारिएका सर्पका जोडीझैँ
कयौ रात हामी पनि अँगालिएकै थियौं
र मैले खुसुक्क ति म्रो कानमा
पिरतीका कुरा सुनाउँदा
लाजले आँखा चिम्लिएको क्षण
सरमले तिम्रा गालामा गुलाफी रङ्ग चढेको बेला
अँध्यारोभित्र तिमी झन उज्यालिएकी थियौ
मैले यो सब किन भनेको भने नि प्रिय !
बिगत सम्झँदा तिमी वर्तमानमा आयौ
बिगत नियाल्दा तिमी मनभित्रै छायौ ।
२०६६ फागुन ६
टीकाथली-५, ललितपुर, काठमाडौं
(स्रोत : कविता कुसुम)