~इन्दु चौधरी~
रगत तिम्रो पनि रातो छ
रगत मेरो पनि रातो छ
रगत रातो अनि दुवैको तातो छ,
तिमी छौ म जस्तो
म छु तिमी जस्तो
फेरी किन यति भिन्नता छ
म देखि तिम्रो मनमा खिन्नता छ ।
मलाई सधै कमैया कम्लहरी देख्छौ
म माथि सधै मनपरी गर्छौ
मेरो रगत पसिनामा घरबार गर्छौ
उल्टै म माथि दुव्र्यवहार गर्छौ
सिमा नाघी सबै अन्याय अत्याचार गर्छौ
तिमी जस्तै मलाई पनि बाँच्न मन छ
भनेर मैले भंनिरहदा,
तिम्रो मनमा खोटैखोट हुन्छ
त्यसैले त टिकापुर विष्फोट हुन्छ ।
मलाई सधै मुसा खाने देख्छौ
जब की हामी दुवै मानव हो ।
रगत तिम्रो पनि रातो छ
रगत मेरो पनि रातो छ
मलाई सधै अछुट देख्छौ
मान्छे मान्छे बिच फुट गर्छौ
मैले छुदा अपवित्र तिम्रो पानी हुन्छ
मेरो त अपवित्र पुरा जीन्दगानी हुन्छ
पश्चातापमा भिजेको मेरो सिरानी हुन्छ ।
तिमी जस्तै मलाई पनि बाँच्न मन छ
भनेर मैले भंनिरहदा,
सहनशिलताको तिमीमा अभाव हुन्छ
केवल शब्दमा सिमित सामाजिक सद्धाव हुन्छ
म भन्दा तिमीलाई बिरालो प्यारो
जब की हामी दुवै मानव हो ।
रगत तिम्रो पनि रातो छ
रगत मेरो पनि रातो छ,
तिखो हलो जोत्ने मलाई जमिन सम्झिन्छौ
तिमी जस्तो अर्को उत्पादन गर्ने मशिन सम्झिन्छौ
न काटे त तिमी नि म जस्तो
काटे म नि तिमी जस्तो
फरक केवल एउटै अंग छ
बाँकी त उस्तै रुपरंग छ
म हिड्ने बाटोको सधै काडेँतार बन्छौ
स्वतन्त्र मेरो जीवनको हकदार बन्छौ ।
तिमी जस्तै मलाई पनि बाँच्न मन छ
भनेर मैले भनिरहदा,
तिम्रो मनमा खोटैखोट हुन्छ
त्यसैले त टिकापुर विष्फोट हुन्छ ।
(स्रोत : Nayasamachar.com)