लघुकथा : ऊ घर फर्किएन

~एल एन सुवेदी “हस्ती”~L N Subedi 'Hasti'

प्रेमचन्दलाई आर्थिक विषमता र पारिवारिक जिम्मेवारीको कारणले गर्दा जुँगाको रेखी नबस्दै गाउँ छोडेर हिड्नुपर्यो । पढाइलाई वीचैमा पूर्ण विराम लगायो । एक कोरी बर्षै नपुगी बिचरा कहाँ हो कहाँ हानियो । जानु कहाँ नै थियो र ? पढाइ राम्रो र आर्थिक सम्पन्नता भएको भए यूरोप , अमेरिका , जापान , सिंगापुर । त्यसो नभए त आफ्नै इमान र इज्जतलाई धितो राखेर आत्मा रुवाउँदै जाने पानी पँधेरो जस्तै ठाउँ त्यही अरब त हो नि ! बुझ्नेहरुले तातो बालुवाको भारी र तेलका ग्यालिनमा छाँदिएर हिडेको होला भने । नबुझ्नेहरुले लाहुरतिर गएको छ । सुन-चाँदी र पैसाको बिटो च्यापेर केटो आउँछ भने । आवश्यक कागजात र दुई-तीन जोर कपडा झोलामा खाँद्यो । बाबु-आमालाई दण्डवत गर्दै प्रेमचन्द चूपचाप बाटा लाग्यो ।

पारीको चौरमा गएर एक छिन आफ्नो घरगाउँलाई हेर्यो र अनुहारमा अमिलो खन्याउदै भन्यो ,“आफ्ना साथीहरु गाउँमा अटाउँछन् , उमेरै नपुगी के भएको होला मलाई ?” फेरी मुखियाले खेताला लगाउने टारी खेत हेर्यो , छिमेकी लाहुरेको टिनको घरमा आँखा डुलाउँदै सोच्यो , “दुईचार वर्ष दु:ख गर्नु पर्छ ! तेरो पनि दिन पर्किन्छ ।” आफ्नो गन्तव्य पुग्यो । काम कुर्चीमा कोट झुन्ड्याउने सोचेको थिएन । आफूले सुनेको र सोचेकै जस्तो काम पायो । दुई वर्षमा घर आयो । मान्छे खाई लाग्दो र हट्टाकट्टा देखिन्थ्यो । ऋणपान तिरोभारो गर्यो । मुखियाको टारी खेत नै नकिने पनि छि : भन्ने किनेन । भाइ-बहिनीहरु पढाउँदै गयो । अर्को छुट्टीमा बहिनीको बिवाह गर्यो । भाइलाई काठमाडौँ पढ्न पठायो । बूढाले भने , अब त जोडी बाँध हौ केटा ! त्यस पछिको छुट्टीमा बिहे गर्यो । सोच्यो अब दुई बर्ष बसेर आफ्नो लागि केही गर्छु । यतिकैमा छोरो जन्मियो । अब उसको पढाइको लागि अरु दुई वर्ष बस्ने सोच बनायो । गाला भासिदै जान थाले । उमेर मध्यान्नको सूर्य भयो ।

छोरोलाई शहरमा पढाउनु पर्ने,परिवार शहरतिर सार्यो । अरु दुई वर्ष भन्दै आफैंलाई ढाँट्दै गयो । छोरोले मोबाइल र ल्यापटपको माग राख्यो । फेरी अरु दुई बर्ष बसौ न त भन्यो । यता उमेर , जोश र जाँगरमा सुख्खा लाग्दै गयो । आफूलाई फिटफाट राख्न बेलाबेला औषधि खाँदै गर्थ्यो । छोरोले फेरी सानो माग राख्यो , एउटा पल्सर मोटर साइकल नभए साथी भाइका अगाडि के मुख देखाउनु ? अब छोरोको माग पूरा गरी फर्किन्छु भन्यो । बिस्तारै हातखुट्टा बास बसे । औषधि मुलो गर्दै गयो र सोच्यो अब त घर फर्किन्छु । दबाई पानीले उसैलाई खान थाले पछि एक दिन आफ्नो कर्म थलोमा एक मुठी सास फुस्सै हावामा उढाई दियो……. ।

(स्रोत : Samyantra.com)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.