~बासुदेव बुढाथोकी ‘सागर’~
उकालीको चौतारी वरपीपलको छाया
छुट्यो बरै त्यो छायामा बसी लाको माया।
कैले हुन्थ्यो मेरो पालो,कैले नाच्थिन् उनी,
मीठो भाका गुन्जिरन्थ्यो छहारीको मुनि।
मेलापात दाउराघाँस बस्तु हेर्न जान्थ्यौँ
पोल्टाभरि मकैभटमास बाँडी खाजा खान्थ्यौँ ।
बर्षातको खोली तर्थ्यौँ हात समाएर
सँगसँगै बाँचेकाथ्यौँ सधैँ रमाएर ।
उनको स्युँदो मेरो सिन्दूर कुन पापीले लुट्यो
हाँसीहाँसी लाको माया रोईरोई छुट्यो ।
बीचमा विशाल भँगालो छ द्विकिनारा हामी
राखूँ कति नयनका यी खहरे थामी !
– फस्कू,दोलखा ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)