कविता : अलकत्रा

~काप्पोबा चुम~Kaappabo Chum

काठमाण्डौमा अलकत्रा माथी अलकत्रा थपिन्छ
प्रत्येकदिन ढुङ्गाको जन्म हुन्छ गाउमा
अलिकती अग्लो थियो धरहरा
ढल्यो त्यो अग्लो धरहरा पनि
अब के देखियोस ?त्यो सिंहदरबारबाट
प्रकृतिले हेपेको सिन्धुपाल्चौक
जहाँ धरहरा भन्दा अग्लो – अग्लो मन ढलेको छ ।

एक घरबाट अर्को घर बनाइरहेकाछन
देशभक्ति नारा लाउने देशभक्तिहरु
उता सुकुम्बासिहरु
निरन्तर ढुङ्गा पल्टाइरहेका छन ,
त्यो गाउहरु गल्ली – बाटो हुँदै
अलकत्रा निलेर काठमाण्डौ कहिले पुग्छ ?

सोझा- सिधाहरुको हड्डिको पर्खाल बनाएर
गरिबिको मासुले प्लस्टर गर्दै
शहिदको रगतले पोतिएर
दिनदिनै कङ्क्रीट बन्दैछ काठमाण्डौ
पानी चुहिन छाडिरछ हातबाट ,
त्रासै -त्रासमा छ काठमाण्डौ
र त
बलियो पर्खाभित्र फलामको गेट लगाएर
झ्याल – ढोकै थुनेर बस्छ त्याहाका मान्छे।

काठमाण्डौमा बलेको बत्ती देखाएर
न्यानोपनको मीठाइ दिदै
काठमाण्डौमा अझै अलकत्रा थपौ भन्छन
गाउलाइ भुल्याउने विद्धानहरु ,
अलकत्रा थप्नु बाहेक केही भन्दैन काठमाण्डौ
सायद –
काठमाण्डौको खप्परमा गिदि होइन अलकत्रा मात्र छ ।

भिरका माटोलाई उधिनेर
पसिनाले भिजाउदै
मश्याएको माटोले लिपेको झुपडी
हेर्दा कत्ती धुलो ?
कत्ती फोहोर ? देखिन्छ
तर जब देखिन्छ झुपडिभित्रको विशाल मन
थाहा हुन्छ तब गाउँहरु अकास हुन
जसरि आकास ध्वान्द्रो छ
तर त्यहि भित्र वायुमण्डल लुकेको छ
हो , ती झुपडीहरु तारा मण्डल हुन
ताराहरुको आ-आफ्नै अस्तित्व छ
आफ्नै प्रकाश छ ।

तर अझै
काठमाण्डौमा अलकत्रामाथी अलकत्रा थपिन्छ
प्रत्येक दिन ढुङ्गाको जन्म हुन्छ गाउमा
अलकत्रा मात्र सोच्छ काठमाण्डौ
सायद
काठमाण्डौको खप्परमा गिदि होइन अलकत्रा नै छ ।

(स्रोत : Nayasamachar.com)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.