कविता : आव्हान

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

परदेशको यो प्राङ्गणभरी
एउटा दशैं मनाऊँ भन्छु
घर छाडी टाढा आज
भव्य संयोग बनाऊँ भन्छु।
**
नियतिको नभ-भरी
फूलको नसा रसाऊँ भन्छु
पेवा होइन, पराई छैन
नेपाली मन बगाऊँ भन्छु।
**
बायाँ कोशी, दाँया काली
गाढा नाता बनाऊँ भन्छु
रङ्ग भरी कतै आज
भव्य संयोग मनाऊँ भन्छु।
**
मेची दाजु, सेती भाइ
नगरा त्यो रन्काऊँ भन्छु
काली बहिनी, भेरी भाउज्यू
मालश्री को धुन घन्काऊँ भन्छु।
**
सम्झनाको संगीत भरी
लिङ्गे, रोटे रमाऊँ भन्छु
विशिष्टता बाँडी आज
एउटा संयोग मनाऊँ भन्छु।
**
हिमाल टेक्ने, तराई थेग्ने
विशाल पाईला गुडाऊँ भन्छु
विदेशको यो विराट माझ
हाम्रो गौरव उडाऊँ भन्छु।
**
खुल्ला चन्द्र आकाशभरी
एउटा रात यो मनाऊँ भन्छु
अनौठोमा अकबरी
आज, रातो टीका लगाऊँ भन्छु।
**
थालीभरी जमारालाई
आसिक भरी जगाऊँ भन्छु
द्वेष सबै छाडी अब
सौहार्दता सजाऊँ भन्छु।
** **

(वि.सं.२०६६ साल, विजया दशमीका अवसरमा पुल्मन, वासिङ्टन, अमेरीकामा आयोजना गरिएको एक सौहार्दपूर्ण कार्यक्रममा वाचित कविता।)

भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.