~प्रेम निशाम निङ्लेकु~
बाजेले लेखेका रे नीति शिक्षा
धेरैले पढेका छन्
धेरैले सुनेका छन्
धेरैले वुझेका छन्
नैतिकवान भएका छन् ।
र त तिनै नैतिकवानहरुले वाजेलाई
चौरस्ताको विचमा उभ्याएका छन् ।
सादय वाजे चौवाटोमा पुगेपछी
आफु जाने वाटो भुलेर उभिने मान्छे हुन
सर्वस्व छोडिए जस्तो गरी हतार हतार
ओहोर दोहोर गर्नेको रमिता हेर्दै रनभुल्लमा परेका हुन् ।
जे होस वाजे वर्षौ देखि त्यही उभिएका छन् ।
कतिलाई लाग्दो हो
चौवाटोको विचमा वाजे त
जिन्दगीको गाडि दुर्घट्नामा नपरोस भनेर
यात्रा संहिता सिकाउन पो उभिएका हुन त
नीति शिक्षादाता
अलमलिने वटुवालाई
वाटोको इसार दिनलाई पो त
अझै कतिले भन्लान्
वधुशिक्षादाता
नारीको सुरक्षा खातिर पहरेदारी गर्नलाई पो त
यसरी वाजे उभिएका ।
तर वाजेले वरशिक्षा लेखेनन्
र त वधु
मान्छेले वनाएका चार पर्खाल भित्र
आफुलाई असुरक्षित ठान्छे
र साहारा खोज्दै
तिनै वाजेको पाउमा चार प्रहर रात विताउन आउछे ।
चारदिवालले नथुनिएका वरहरु त्यहाँ पनि आउछन्
वाजेको सुरक्षामाथि अट्टहास गर्छन्
वाजे चुपचाप वस्छन् ।
विहान सवेरै अर्ध वेहोस भएर
आलो रगतको टाटा टकटकाउदै उठ्छे
सपना झैं लाग्छ उनिलाई ।
लाटी हो उनि दुनियाँको लागी
सवैको रमिता हुन्छे
सवैले छिछि दुर दुर गर्छन्
विचरा भन्छन्
पर परै भाग्छन्
कुरा काट्दै मच्चि मच्चि हाँस्छन्
छिछी दुर दुर गर्नेको भिडमा
तिनै वरहरु पनि छन्
जसलाई राती घिन लागेन
लाटी ठानेनन्
असहाय मानेनन्
अहँ तिनिहरुलाई पनि वाजे केहि भन्दै भन्दैनन्
वस उभिएका छन्
कैयौं घाम सहेर
वर्षा र झरी थापेर
वर्षौदेखि चुपाचाप उभिएकाछन् ।
धेरैखाले आन्दोलन हेरेका छन्
नाराजुलुस देखेका छन्
नेताका चटके भाषण सुनेका छन्
त्यहि तालमा जोडले वजेका ताली र नाँचको रमिते भएका छन्
र मौन उभिएका छन् ।
र त आजभोली वाजेलाई सोध्न मन लाग्छ
वाजे तिमि मात्रै किन यति छिटो जन्मियौ ?
र यसरी
सधै सधै मौन भएर
शान्त मन लिएर
वर्षौ वर्ष चौरस्ताको विचमा उभिने भाग्य लिएर आयौ ?
(स्रोत : Nayasamachar.com)