~खेम राई~
एउटा ठूलो जमातमा
उपस्थित म अभिमन्यू
शोककाव्य बाचन गर्न उभिएको ।
विमन्युहरुको हुलमा
कसले पो सुनिदेला ?
दु:ख र पीँडाले भरिएको
शोकले आह्लादित बनेर
आँशुले लेखेको लेखोटलाई
शोककाव्य हो या
मनोविलाप
आफैँ दोसाँधमा उभिएकोछु ।
सालिन मुद्रामा
दु:खित मुहार पारेर
शोककाव्य बाच्न खोजिरहेछु
हिक्क-हिक्क भएर किल्किलेमा
वर्जित मेरा आवाजहरु
प्रस्फुटित भएनन् कहिल्यै
बगिरहे वलिद्र आँशुका धाराहरु
बगिरहे एकोहोरो
बगिरहे ।
के हो शोककाव्य ?
के`था ती विमन्युहरुलाई ?
हर्षले उन्माद त्यो भीडलाई
मेरा घायल मनभित्र
छिपेका ती सबै
युद्धका चोटहरु,
भूकम्पको आला घाउहरु,
प्रसव पीँडाका कथाहरु,
छरपस्ट छरिएका
ती दु:खित आत्माका कथाहरु ।
थिए ती सबै मनैभित्र
प्रस्फुटित हुन सकेनन् कहिल्यै
वर्जित मेरा भावनाहरु
वर्जित मेरा आवाजहरु ।
आँशु र पसिनाले सिंचित गरेर
मुर्छित समनाहरु व्यूँताउन हिँडेका
विक्ष्यिप्त ती आत्माहरु
जो फिर्छन् दिनहु झैं
सुन्दर बाकसमा सजिएर
समाधिस्त हुन्छन् कतै ।
यस्तै-यस्तै घटनाहरुले पारेका
घायल मनहरुका कथाले
मस्तिस्कमा ल्याउँछ मनोक्रान्ति
भावनात्मक आवेगसँगै
ओकल्न खोजिरहेछु सँधै
छन् ती सबै मनैभित्र
गडेका ती वेदनाहरु
प्रस्फुटित भएनन् कहिल्यै
वर्जित मेरा भावनाहरु
वर्जित मेरा आवाजहरु ।
-पूर्व सम्पादक,
इशारा साहित्यिक मासिक पत्रिका, इलाम ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )