कविता : भोका आँखा

~रसिक रमण~Rasik Raman

कमरेड ! मेरा आँखा भोकाएका छन् ,
अनकन्टार , दूर दराज , कन्दराबाट
गाइएका स्वाभिमान र राष्ट्रियताको
भाका सुन्दै
विकास , प्रगतिका पथमा
किन्चित विचलित नभई
बढ्दै गरेको म
एक्कासि लागेको ठेसले
भक्कानिएको छु ।

यहाँ सगरमाथाको उचाइ घट्दै छ
सिताको इज्जत लुटिदै छ
पवित्र र पावन भूमि लुम्बिनीमा
परेवाको घाँटी निमोठिदै छ ,
कमरेड ! अझै कति गर्ने
आलोपालोको खेल ?
कति हेर्ने
नेपाल आमा माथिको
अतिवादीता र दासत्वको व्यवहार ?
जनताका आँखा भोकाएका छन् ।
दस बर्से द्वन्दले थङ्थिलो पारिएकी ,
चीर हरण गरिएकी
निर्वस्त्र नारीसमान प्रताडित जननी
बल्ल टुसाएको शान्तिको प्राप्त्याशा माझ
अकस्मात् सिर्जित कुठाराघात
कमरेड !
अझै जाज्वल्यमान छन्
ती तलवार र खुकुरीहरु
जुन स्वाभिमान स्वामित्व र राष्ट्र बिरोधीबिरुद्ध
चम्किन्छन टल्किन्छन र बज्रन्छन पनि ,
त्यो गोर्खे पनि जीवितै छ ,
जो आखिरी श्वाससम्म पनि
देशद्रोहीको विनाशको निम्ति हर्दम तयार छ
त्यसैले यो कुरा मनन गरी
कृपया
काङ्ग्रेस , एमाले , माओवादी , फोरम ;
शेर्पा , तामाङ , तथा बाहुन ;
पहाडी , हिमाली र मधेसीबाट
माथि उठ्ने प्रयास गर
बामे सर्दै गरेका पाउहरुलाइ
भर देऊ र हिड्न सिकाउ
ठेसिएका र चोटिएका
तन मनमा मल्हम लगाऊ ;
शान्ति , उन्नति , प्रगति र
विकासको शिखरमा
नेपाल आमाले पाइला टेकेको
हेर्ने चाहनाले
भोकाएका छन् आँखा ,
तिर्खाएका छन् मन
त्यसैले कमरेड !
अझ पनि मनन गर
समय घर्किएको छैन तर
यसले पर्खिएको पनि छैन ,
फलागम र सफलताको अपेक्षामा
सारा जन टोलाउदै छन्
कमरेड ! आमाका आँखा भोकाएका छन् !!!

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.