कविता : लाखेनाच

~दिव्य गिरी~Dibya Giri

न चाडपर्व
न उत्सव
नत कुनै जात्रा
बेला-कूबेला
बाटो, दोबाटो र चौबाटोमा
झयाली र ढोलकको तालमा
मान्छेहरूको भीडभित्र
मुकुण्डो लगाएर
नक्कली जगल्टा हल्लाउँदै
लाखे नाचिरहेछ छम्छम्… छम्छम्…
हा. हा…हु .हु… र अट्टाहासको परिधिभित्र
अल्लारे केटाकेटीहरूले सिटी बजाएकै भरमा
अल्लारे केटाकेटीहरूले ताली ठटाएकै जोशमा
बुर्लुकबुर्लुक उफ्रदै नाचेको लाखेलाई के थाहा ?
समय कहाँबाट कहाँ पुगिसक्यो
हामी अझै कूबेलाको लाखेनाच नचाइरहेछौं
हामी अझै कूबेलामा लाखे नचाएर दङ्ग छौं
यस्तो लाखेनाच
केवल तमासा मात्र हो
लाखेनाच हेर्ने हामीहरू
केवल तमासे मात्र हौं ।
प्रिय महाशय,
लाखेनाचको तमासा देखाएर
गाउँबस्तीमा नुन, पानी र बाटो पुग्दैन
गाउँबस्तीमा शान्ति र सुरक्षा हुँदैन
न भोको पेट भरिन्छ
नत नयाँ नेपाल बन्छ ।
प्रिय महोदय,
सपनाको मैदानमा
अब भ्रमका बीज नछर
सिधासादा जनतालाई झूठो आश्वासन नबाँड
र, नदेखाउ यो कूबेलाको नाखेनाच
कृपया, बन्द गर यो सडक नौटङ्की ।

पौष २, २०६६
टीकाथली-५, ललितपुर, काठमाडौं

(स्रोत : कविता कुसुम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.