~दीपक जडित~
कुनताको बराला, बाबुको शेखापछि झनसाह्रो बराला भएको थियो भूपाल । आमाले घरको जेठोबाठो होस्, अब तैंले नै थाम्नुपर्छ घर व्यावहार, यसरी बरालिएर हुँदैन भनेर सम्झाउँथिन् । तर उसलाई बरालिएर हिंड्न पाए पुगिहाल्थ्यो । आमाको कुरा उ एक कानले सुनेर अर्को कानले उडाइदिन्थ्यो ।
एकदिन आमाले उसलाई नुहाई धुवाई गरेर कूलका स्थानमा धूप धुवाँर गर्न अह्राउँदै भनिन्, “कूलका थानीमा धूपदुवार गरिदे आज, तेरा बाबुले हरेक पूर्णेमा कूललाई बुझाउने गरेका थिए ।”
सितिमिती टेर्ने खालको त थिएन उ तर त्यसदिन उम्कन पनि सकेन । नुहाई धुवाई गरेर उसले कूलका स्थानमा बत्ति त बाल्यो तर कूल देवतालाई के भनेर बुझाउने थाहापत्तो थिएन उसलाई । हुनत उसले साह्रो साह्रो फलाकेर सबैलाई सुनाउँदै देवतालाई बुझाउनु पनि पर्दैनथ्यो । त्यसैले दुई हात जोडेर मनमनै फलाक्यो, “हे कूल देउता! सुब्बा साइँलाकि छोरी मेनुका साह्रै मनपर्छे मलाई । उसले पनि मन पराउँछे । कसैगरी हामो जोडी मिलाईदेउ है परमेश्वर!”
कूल देवतालाई धूपबाति गरेर बुझाए पछि दिनभरी नै उ प्रसन्न भैरह्यो । उसलाई आज खास काम गरें भन्ने लागिरह्यो । उ भन्दा ज्यादा प्रसन्न उसकि आमा भइन् । उनले सोचिन्, “अब यसैगरि ज्ञानी भएर उसको बाबु जस्तै धर्मकर्म र कूलको मानमर्यादा ख्याल राख्ने भैदिए कति जाती हुनेथियो ।” उनिहरु भन्दा धेरै प्रसन्न त स्वयं कूल देवता भएछन् ।
भोलीपल्ट गाउँ समाज पछि लगाएर सुब्बा साइँला उसको आँगनमा आयो । सुब्बाले एकहातले आफ्नि छोरी मेनकाको पाखुरा समातेको थियो भने अर्को हातले नाङ्गो सिरुपाते खुकुरी उज्याएर समातेको थियो । सुब्बा साइँला आँगनबाट कड्कियो, “एइ भूपाले डाँका, मेरि छोरीलाई पापको भारी बोका’र काँ लुकेको छस्? बाहिर निस्की । चुपचाप एस्लाई घरभित्र हुल्छस् भने ठीकै छ, ज्वाईँ भनेर खुट्टा ढोगेर फर्कुम्ला । होइन भने यै आँगनमा तिमेरु दुबैलाई दु-दुई ठुन्का बना’र ठानातिर जाम्ला ।”