~रमेश बिमान~
खुकुरी र करौतिको आफ्नै आफ्नै धार हुन्छन् ।
अचानोमा बसिरहे ठूला ठूला प्रहार हुन्छन् ।
बाटो हिड्ने हैन आखिर हिड्नु पर्ने आफैले हो
म उभिए के भयो र ! अघि जाने हजार हुन्छन् ।
सोच्नुपर्छ कै’ले कहीँ के के भए कहाँ कहाँ
कुनै याद इतिहास बताउन तयार हुन्छन् ।
हरेक चिजको गुण हुन्छ नजलाउनु क्वै निशाना
च्यातिएका चिठ्ठीपनि बाँच्नलाइ आधार हुन्छन् ।
मेघ जस्तै गर्जिएका शेर बन्दा गजलको
अतितका पानाबाट धेरै शब्द साभार हुन्छन् ।