~अतित मुखिया~
अवमुल्यन हुदाहुदा आफ्नै व्यक्तित्व
जिन्दगीको विनिमय बजारमा
तिप्कोभर इज्यत सांचेको छु
सम्वोधनका तिम्रा शव्दार्थमा
जगेडा भएर बांचेको छु ।
थाहाछैन कांहानेर कसलाई
कुनबेला चाहिने हो
कहिले सकिएर पालो अरुको
बल्ल पालो पाइने हो
हुलभित्र एक्लै बखेडागर्दै
अभिनयको हांसो हासेको छु
सम्वोधनका तिम्रा शब्दार्थमा
जगेडा भएर बांचेको छु ।
नहुनु जगेडा हुनै परेपछि
अनिकालका लागि
विउ भै जगेडा हुनपाए हुन्थ्यो
मायाजालका लागि
निहुं भै जगेडा हुनपाए हुन्थ्यो
सुगमका लागि सुन भएर
दूर्गमका लागि नुन भएर
जगेडा हुनपाए हुन्थ्यो
यो सब नभएर हरेक विवादमा
विबादित बनेर नाचेको छु
सम्वोधनका तिम्रो शब्दार्थमा
जगेडा भएर बांचेको छु ।
हिमालको छेउछाउ ठिही ओरिपरी
अलिकति न्यानो बनेर सांचिन पाए हुन्थ्यो
कठ्यांगि्रदो आङका फाटेका लुगाहरुमा
ओभानो टालो भएर टांसिन पाए हुन्थ्यो
भोकालाई भोजन भएरे
निद्रालाई ओछ्यान बनेर
जगेडा हुनपाए हुन्थ्यो
तर त्यसो नभै फगत म
पानीबिनाको धारापदेरा भएर
आफैमा तिर्खा सांचेको छु
सम्वोधनका तिम्रा शब्दार्थमा
जगेडा भएर बांचेको छु ।
हर अभावका लागि पूर्ति भएर
जगेडा हुनपाए हुन्थ्यो
हर सुस्तीका लागि फूर्ति भएर
जगेडा हुनपाए हुन्थ्यो
अभेग वस्तिका लागि बाटो भएर
सुकुम्वासीका लागि माटो भएर
जगेडा हुनपाए हुन्थ्यो
तर विडम्वना
आफ्नै मन सुकुम्वासी हुदा
मनलाई नै आफैले भांचेको छु
सम्वोधनका तिम्रो शब्दार्थमा
जगेडा भएर बांचेको छु ।
थाहाछैन कहिले कसलाई
कुनबेला चांहिने हो
कहिले निख्रेर पालो अरुको
बल्ल पालो पाइने हो
देख्नेहरुका लागि केवल
बखेडा गर्दै हांसेको छु
सम्वोधनका तिम्रा शब्दार्थमा
जगेडा भएर बांचेको छु
सिर्फ जगेडाकै लागि
जगेडा भएर बांचेको छु ।
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान )