~बिष्णु सुवेदी ‘दोलखे’~
देउरालीमा उमेरहरू
थपिरहेछन् पिपिरीपात !
पिपिरीपातको थुप्रोबाटै
उठिरहेछ पहाड
प्रेमजस्तै महान् भएर !
बैंसालु मनहरू
सपनाको उडान भरेर
मनको यात्रामा निमग्न छन्
देउरालीका उमेरहरू
बालुवा पेलेर तेल निकाल्दै
घसिरहेछन् प्रेमकै सालिकमा !
कतै आँसुुले धोएर मन
देउराली नुहाइरहेछन् पीडाहरू
कतै किचिएर सपनाहरूले
देउराली सुकाइरहेछन् जाली रुमाल
पहाडको अर्को आकृति
सानो देउराली
मौन स्वीकारिरहन्छ
बनमारा पातहरू
पिपिरी पातहरू
स–साना स्लेटहरू
खोपिएका अमूर्त अनुहार
लेखिएका वा
लेख्न बाँकी अमूर्त नामहरू
देउरालीमा उमेरहरूको
स्वीकारिरहन्छ मौन
आँसुु–हाँसो
खुसी र पीडा सबै–सबै !
देउरालीमा उमेरहरू
निफनिरहन्छन् घानहरू
र खुसीको बिस्कुन
सपनामा खेलेर_सपनामा हिंडेर
सपनै बाँच्छन्
काँचो माटोको धुपौरो जस्ता
काँचा उमेरहरू
सपनाहरू हुन देउरालीका उमेरहरू
जीवन र रहरहरू
कति जटिल फुकी–फुकी हिंड्न पर्ने
देउराली एकातिर
र उमेर एकातिर
अनि देउरालीमा उमेरहरू !