~आभास~
घोडचढी
घोडामाथि छ
र ऊ आफैंलाई थाहा छैन
ऊ केमाथि चढिरहेछ
अहिले
चर्को घाम छ या बादल
यो पनि उसलाई थाहा छैन
सडकमा
कालो लम्पसार सडकमा
केको लस्कर लम्किरहेछ
जुलुस, मलामी या जन्ती
आकाशमा
नीलो आकाशमा
चमचम के चम्किरहेछ
चन्द्रमा, तारा या उपग्रह
उसलाई केही थाहा छैन
कहिलेकाहीँ
घोडचढी सपना देख्छ
घोडामाथिबाटै सपना देख्छ
सपनामा–
चिहानमा गडिएको मान्छे उठ्छ
र निर्धक्क उसित बोल्छ
अस्ताएको घाम
फेरि उदाउँछ
र उसलाई पोल्छ
अनि ऊ
बरबराउँछ
बारम्बार बरबराउँछ
जब ऊ ब्युँझन्छ
घोडालाई सन्निपात भएको छ
या ऊ आफैंलाई
ऊ केही थाहा पाउँदैन
आकाशमा
माथि माथि नीलो आशमा
मेघ गर्जिरहेछ
या सडककै
कङ्कलाशब्दको प्रतिध्वनि
अविराम वर्षा भैरहेछ
या उसकै स्वागतमा पुष्पवृष्टि
अथवा
बूढा पातको मृत्युले ल्याएको पतझड
उसलाई केही थाहा छैन
अहिले ऊ
बगैँचाको सुगन्धमा
यात्रा गरिरहेछ
या तबेला भित्रकै जात्रा
यो समेत उसलाई थाहा छैन
घोडचढी
मात्र घोडा चढिरहेछ
घोडा
उसको प्रिय घोडा
सकि नसकि हिनहिनाइरहेछ
विक्षिप्त घोडचढी
मात्र घोडा चढिरहेछ ।
***********