~रसिक रमण~
जहाँ स्वेच्छाचारी छ ,
भ्रष्टाचार कालोबजारी छ ,
शोषण र अन्याय छ
त्यहा
हर युगमा साक्षात हरि
गोविन्द जन्मने गर्दछन ;
शोषण र कुपोषणले जर्जर बनाएको
अनकन्टार ग्रामीण परिवेशको
फुस्रा शरीरमा सास भर्ने
सहज स्वास्थ्य शिक्षाको आभास जगाउने
एक आदर्श व्यक्तित्व
जनको जीउ धन र मनको सुरक्षाका निम्ति
खुसी मनले आठौं पटक
आन्द्रा सुकाएका छन् पीडा खेपेका छन् ;
सहर केन्द्रित स्वास्थ शिक्षाको बिकासको
स्थगन र सुदुर गाउको बिकास
प्राथमिकतामा राख्नुपर्ने उनको आवाज
के गलत हो ?
भोका नाङ्गा आङमा
धरा दिनुपर्ने बचन
के स्वार्थ हो ?
ए सरकार समयमै बिचार गर्
तेरो बिरोधमा उठेको यो आवाज
साधारण र कमजोर नसम्झी
हुनसक्छ एक गोविन्द मर्ला
त्यस्को बदलामा लाखौं
जन्मिसकेका छन् ;
अध्यारो रात ढलेर
स्वर्णिम प्रभातको लाली छाएको छ
शिशिर सकिएर वसन्तको बहार आएको छ
मरुभूमिमा दुबो मौलाएको छ
त्यसैले अबेर नगर्
सबै दलले पनि बिचार गर्
अन्यथा जनताबाटै निर्वाचित भएका
ऊबाट नै तिरस्कृत भएर
दर्दनाक मृत्यु वरण गर्लास् !!!
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )