~शिरिष लामिछाने~
आफ्नो कुरा ब्यक्त गर्न
पर्खिरहेको एक मानिस
जब न्याकिन्छ समाजबाट
जब उसको भावनालाई
नाली सरह तुल्याइन्छ
र, जब उसको बेदनालाई
चर्पीमा “फ्लश” गरिन्छ
तब जन्मिन्छ एक आक्रोश
जसले रोप्छ क्रान्तिको बिउ
अनि निकाल्छ ज्वाला
निक्लेको ज्वालासँगै
उन्नत कहलिएको समाज
आँखा झिमिक्क गर्न नपाउँदै
निमेषभरमै,
खरानी भइ
धर्तीमा विलिन हुन पुग्दछ
“मै हुँ” भन्नेहरुलाई लाग्ला
के यो सम्भव छ?
भन्न मन लाग्छ
ठूलो वर्गका उच्चहरुलाई
आत्मप्रश्न गर्न
अलि ढिला भएन र?
बाँकी समय,
बरु कात्रो सिलाउन खर्च गरे
कसो होला??
(स्रोत : रचनाकारको ब्लगबाट सभार)