~दिव्य गिरी~
कस्तै बलवान होस्, एक दिन गल्छ मान्छे
संसार छोडेर चीतामा हुर्हुरी बल्छ मान्छे ।
बाहिर बाहिर हाँसेको देखिन्छ ता पनि
मुढोझैँ सल्किएर भित्रभित्रै जल्छ मान्छे ।
स्वार्थी यो दुनियाँमा स्वार्थरहीत कोही छैन
मत्लव खातिर कोढीको पाउ मल्छ मान्छे ।
अवसर अवसरमा फाइदा लिन पल्केपछि
समय-समयमा आफ्नो रुप बदल्छ मान्छे ।
वैरी खोज्न टाढा जानु पर्दोरहेनछ मित्र !
आफन्तको छातीमा नै मुगी दल्छ मान्छे ।
कसैलाई गन्दैन, आफ्नो-आर्को कोहि भन्दैन
शक्तिको घमण्डले काँढा भएर फुल्छ मान्छे ।
धन, बल र शक्तिको तुजुक जब सकिन्छ
अनि पो चैतको आँधीमा रुखझैँ ढल्छ मान्छे ।
सेडा, त्रि.वि.वि., कीर्तिपुर, काठमाडौं
(स्रोत : कविता कुसुम)