कविता : टुँडिखेल भित्रको ङिच्च हाँसो

~समाश्री राउत~Sama Shree Raut

ऊ ङिच्च हाँस्यो
म पनि ङिच्च हाँसे
हामी ङिच्च हाँस्यौ
थाहा छ हामीलाई
यो आवरण हो
बिवसता लुकाउँने
हामी बुझ्दछौं
अरूको परिबन्द
आफ्नो कमजोरी
र त
मुखामुख हुना साथ
ङिच्च हाँस्छौं
यो अभिवादन होइन
हामी उस्तै छौँ भन्ने
जनाउ हो
हामी हरेक भेटमा
कुरो न कन्थो हाँस्छौ
ङिच्च दाँत देखाउँदै

उनीहरू आएर
हामीहरुसँग
एक मुट्ठि निलो रङ्ग मागेका थिए
तिमीहरुसँग
एक मुट्ठि रातो रङ्ग मागेका थिए
भन्दै थिए
सेतो हिमालले
आफ्नो आकर्षण गुमाईसक्यो
अब यसलाई रंगाउँनु छ
हामीले
धृतराष्ट्र् बनेर
दुयोधनका माग पुरा गर्‍यौ
कहिल्यै
क्षमताको जाँच गरेनौ
बिना परख
विश्वास गर्‍यौ र दियौं
रंगहरु
हो
उनीहरूले हिमाल रंगाए
भाँती नपुर्याइ रंगाए
दुबैरंग मिसाएर रंगाए
आजकाल
बिहान देखिने हिमाल
कालो छ
हामी यसलाई निहार्छौ
ङिच्च दाँत देखाउदै

उनीहरू दलबल सहित
भोलि फेरी आउनेछन्
हाम्रा आँगनमा
हाँस्दै हाँस्दै
सपना बाँड्न
हामी
ङिच्च दाँत देखाएर
स्वागत गर्छौ
हो मा हो मिलाउँछौं
उनीहरूको अगाडी
हाम्रो किल्चिएको आत्मबल
उठ्न सक्दैन
औंला उठाउन सक्दैन
प्रश्न गर्न सक्दैन
हिसाब माग्न सक्दैन
हामीले दिएका रङ्ग
किन बेकाइदा खर्चियो भनेर
हिमाल
किन बेकाइदा रंगियो भनेर
हामी
बाँकी रङ्गको
हिसाब पनि माग्न सक्दैनौं
उनीहरू बहकाउदैनन्
हामी आफैँ बहकिन्छौं
तोकिएको दिन
लामबद्ध हुन्छौं
भेँडा बन्छौ
एकअर्कालाई
ङिच्च दाँत देखाउँदै

माथि टुँडिखेलमा
जिजिविषा
हाम्रा सोचहरुलाई कवाज खेलाउँदैछ
आवश्यकताले थिचिदा
सोच टुँडिखेलको बार नाघ्न सक्दैन
दालभातको समस्यामा
बिचार अल्झिरहन्छ
हाम्रो चारकिल्ला
यही टुँडिखेल हो
हामी टुँडिखेल भन्दा
बाहिर जान सक्दैनौ
बाहिर सोच्न सक्दैनौ
घेरा तोडने
आवश्यकता नै देख्दैनौ
अरूको भरमा
अरूले गरिदिने आशामा
हात बाँधेर बस्छौं
टुँडिखेल भित्र हामीलाई
अरू हेर्न आउँछन्
हामी स्वागत गर्छौ
ङिच्च दाँत देखाउँदै ||

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.