कविता : सिक्सीको

~अतित मुखिया~Atit Mukhiya

खै किन किन साथी ?
कहिल्यै परेन घामको ओभानो पैतला
मेरो आगनको हिलोमाटो माथी ।

करेसाका कोपिलाहरु
परदेश फुल्न बाध्यछन
अंकुरण पहेंलिएको छ
केवल बनमारा झप्केका छन्
भुईचम्पा ओइलेका छन् ।

आँसुका अम्ल बर्षाले
गिलो र हिलो मेरो आगन
ओभाउनुको सपना
बाडि भएर खाडितिरै भत्कन्छ
तन्नेरी रहर
बलौटे प्रदेशतिरै अड्कन्छ
सायद यसैले
धुरीमा धुवाँसो लाग्न छाडेको छ
भालेले प्रभात बास्न छाडेको छ ।

हर दिन सूर्यग्रहण
हर रात चन्द्रगहण
छैन चमक ताराहरुको पनि
हाम्रो आकाशमा ।
घुरेनका आरुबखडा
बनतरुलका बेलोले जेलिएको छ
सगरमाथा बादलले छेलिएको छ
लुम्विनी डुबानमा हेलिएको छ
स्वअस्तित्वमा खिया लाग्दा
मृत सपनासंगै खस्छन् जोर आँखाहरु
र,
कुहुन्छन् ओइलाएका कमलसंगै किचडमा ।

कति बाल्नु पानसमा दीप
मनको सलेदो सल्काउदै
कति उतार्नु कामनाका आरति
दृष्टिहीन आँखा पराई दृश्यमा अल्झाउदै
खै कत्तिलाई मात्रै ओछ्याउनु
यो हिलोमाथी ओभानु पिरा
जुन जोगि आएनी कानै चिरा ।

खै किन किन साथी
कहिल्यै परेन घामको ओभानो पैतला
मेरो आगनको हिलो माटोमाथी
छ्या ! यो कस्तो सिक्सीको ?

(स्रोत : ल्लव साहित्य प्रतिष्ठान )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.