~मधु गुरुङ~
राजनीतिक पार्टीहरु तानातान गर्छन्
महँगीले जनताहरु भोकभोकै मर्छन्
अराजकता बढ्यो देशमा शान्ति नहुनाले
बेरोजगारी बढ्यो उद्योगधन्दा नखुल्नाले
सबै मिली उठाउँ एक स्वर
शान्ति विकास समृद्धि रोजगार
लोकतन्त्र ल्यायौँ हाम्ले ज्यानको बाजी लगाई
गणतन्त्र ल्यायौँ हाम्रो दुःख भगाउनलाई
महँगी र बेरोजगारी हाम्लाई उपहार
कतिन्जेल बस्ने हामी यो पीडा सहेर
सबै मिली उठाउँ एक स्वर
शान्ति विकास समृद्धि रोजगार
विकास हुन्छ भन्ने सोच्यौँ कुना कन्दरामा
उद्योग धन्दा कलकारखाना हरेक ठाउँठाउँमा
कृषि र औद्योगिक क्रान्ति हुन्छ भन्ने सोच्यौँ
समृद्धिले आकाश छुन्छ यही नै कुरा बुझ्यौँ
तर पार्टी सबै चार दिशा फर्केका
जनताको खै मर्का बुझेका
देश जनताको मर्का बुझ पार्टीका नेता हो
सल्लाह गर्दै अघि बढ यै आवश्यकता हो
हामी फुटे देश फुट्छ भन्ने कुरा बुझ
होऊ भने देश जनताको मिली अघि बढ
अझै हाम्ले सहने कति हो
जनतालाई पिरमर्का अति भो ।
(स्रोत : शब्द-संयोजन असोज २०६८ अङ्क ८९ )