~महेश पन्त~
दुई साथी कुद्दै–उफ्रदै खेल्दै थिए । अचानक एउटा साथी ईनारमा खस्न पुग्यो । उसले सहयोगको लागि यताउता फर्किएर चिच्याउँदै हार गुहार माग्यो तर गाउँबाट अल्लि टाढा कोल्टो पर्ने भएको हुँदा उसको आवाजलाई कोही कसैले सुनेनन् । ऊ के गर्ने भनेर सोच्दै छटपटिन लाग्यो । उसले पानी निकाल्न प्रयोग हुने बाल्टिन देख्यो र हत्तनपत्त बाल्टिन तल ईनारमा फ्याँक्यो र अर्को छेउबाट तान्न थाल्यो । अन्तमा बहुत कठिन परिश्रमपछि साथीलाई ईनारबाट बाहिर ल्याउन सफल भयो ।
यसपछि उनीहरु गाउँ फर्किए । यो कुरा सबैलाई सुनाए तर कसैले विश्वास गरेनन् । ‘ईनारबाट आफु बराबरको मान्छे तान्न कहाँ सकिन्छ ? वाहियातको कुरा । अझ तान्ने भन्दा तल ईनारमा खसेको मान्छे अल्लि मोटो छ, हुनै नसक्ने कुरा’ भन्दै गाउँलेहरुले उनीहरुको खिल्ली उडाए ।
तर सोही गाउँको स्कूलका एक जना शिक्षकले भने यो कुरा हुनसक्ने बताए । उनले भने – ‘मलाई यिनीहरुले झुठो बोले जस्तो लाग्दैन । हो, हेर्दा हामीलाई गाह्रो छ तान्नलाई । सोझै सम्झिँदा पनि विश्वास लाग्दैन । कोही पनि सहयोगी नभएको ठाउँमा र आफूभन्दा मोटो त्यो पनि ईनार जस्तो गहिराईमा भएको मान्छे तान्नलाई । तर मलाई लाग्छ, त्यहाँ अर्को मान्छे पनि थियो जसले तान्नलाई सहयोग गरेको थियो ।’
शिक्षकको कुरा पछि सबै जना शिक्षकको पनि खिल्ली उडाउँदै हाँसे । शिक्षकले शान्त हुन ईशारा गर्दै भने – ‘हो त्यहाँ अर्को मान्छे पनि थियो र म फेरि पनि भन्छु त्यहाँ अर्को सहयोगी मान्छे पनि थियो ।’ एकैछिन रोकिएर शिक्षकले भने – ‘त्यो हो आत्मविश्वास !
हो, तान्ने मान्छेको आत्मविश्वास । किनकि तान्ने मान्छेलाई तिमीले सक्दैनौँ भन्ने मान्छे अरु त्यहाँ कोही थिएन । त्यसकारण तान्ने मान्छेलाई उसैको आत्मविश्वासले साथ दिएको थियो । जसले गर्दा उसले तान्न थाल्यो र सफल भयो ।
(स्रोत : सत्यतथ्य मासिक)