~वैकुण्ठ ढकाल~
रेडियोको काम सकेर डेरामा पुगेको मात्रै थिएँ । बहिनी झोक्किइन् ।
‘त्यस्ताले किन बिहे गर्नु ? अनि बाउ आमा पनि के भा’का, सम्पत्तिलाई हो र छोरी दिने ?’
‘हैन के भो ?’ किन मुर्मुरिएकी ?
‘के हुनु नि, मधुलाई बूढाले छोडिदियो रे !’
‘ए, हो ? कहिले चाहिँ समाएको थियो र !’
‘तपाईंलाई त जे कुरा पनि हलुका रुपमा लिनुपर्छ है ! हिजो मन पर्यो, भनेर बिहे गर्ने अनि आज मन परेन भनेर छाड्न मिल्छ त ?’
‘मधुको पनि केही कमजोरी थियो होला नि ! केही समस्या थिए होलान् ।’
‘तपाईँ पनि आखिर पुरुष न हो, पुरुषकै कमजोरी छ किन भन्नुहुन्थ्यो र ! आफ्नो गल्ती-कमजोरी थाहा पाउने हो भने त सानो सुन्दर संसार किन टुक्रिन्थ्यो र !’
‘हो, बल्ल तिमी लाइनमा आयौ, तिमी पनि आखिर त्यही त हौ नि, केटी भएर केटीको गल्ती देखिनौ । मधुको बूढा दोषी हो भनेर अदालतले जसरी फैसला सुनाइदियौ । यहाँ सबैले आफूखुसी फैसला सुनाउँदा त हो नि समस्या भएको ।’
‘हो, हो । पत्रकार र वकिलसँग कुरा गरेर कसले सक्नु ! आखिर हजुर पनि पत्रकार न पर्नु भो ।’
तर्कले जित्न नसक्ने भएपछि, पत्रकारसँग कुरा गर्न सकिँदैन भनेर बहिनी पहिले जस्तै आज पनि पन्छिइन् ।
०००
मधु साँच्चै मह जस्तै छिन् । ठूल्ठूला आाखा । कालो लामो कपाल । धपक्क बलेको बाटुलो मुहार । सफेद अनुहार र त्यसमा खुलेको मुस्कान । सधैं पुर्याई-पुर्याई मुस्कुराउने ओठ । टम्म मिलेका सेता दाँत । हाँस्दा दुवै गालामा डिम्पल । छिनेको कम्मर, उठेको छाती । मधु जत्ति राम्री र खुसी को होला र संसारमा ? यस्तै लाग्थ्यो मलाई ।
बिहान मात्रै देखेको थिएँ उसलाई । कुनै पीर र चिन्ता परेको जस्तो थिएन । पीर सबै निल्न सक्ने भएर त मधु, मधु भएकी होलिन् नि ! भर्खर-भर्खर हो चिनजान भएको । तर, पहिलेदेखि नै परिचित झैं लाग्ने बोली थियो उनको । बहिनीले भनेर नै हो, थाहा पाएको मधु विवाहित भनेर । आज फेरि बहिनीको मुखबाटै सुन्दै छु, मधुको बूढाले छाडेको भनेर ।
०००
बहिनीले खै के सोचिन्, हतारिँदै आएर फेरि सोधिन् – ‘लोग्नेले छाडिसकेपछि पनि सिन्दूर-पोते लगाइरहनुपर्छ र ?’
सधैं हसबेन्ड, वाइफ भन्ने बहिनी आज लोग्ने भनिरहेकी थिइन् । सायद उनलाई कसैको लोग्नेभन्दा पनि लोग्नेमान्छेप्रति नै आक्रोश पो थियो कि ?
कहिलेकाहीँ म कुनै-कुनै प्रश्नको जवाफ मौनताले दिने गर्छु । बहिनीको प्रश्नमा पनि त्यही अपनाएा । अर्थात् यो उनीहरूको निजी कुरा हो ।
०००
आखिर बहिनीले पत्रकार भनेकै छिन्, पत्रकारको काम खोज्नु हो । खोजीमा लाग्नैपर्ने भयो । तर, आज त रात पर्यो । राति गरिने काम त चोरी-डकैती होला । यही सोचेा । बहिनी लोग्नेमान्छेप्रति आक्रोशित भए पनि भात, तरकारी सधैंको भन्दा छिटो र मीठो बनाएर खुवाइन् । सायद सोचिन् होला- पहिले दाइ त्यसपछि मात्रै ‘लोग्नेमान्छे’ ।
खाना खाएर ओछ्यानमा पल्टिएँ । तर, निद्रा लागेन । बहिनी सुत्न अर्को कोठामा गइसकेकी थिइन् । उठेर जान अल्छी लाग्यो, एसएमएसबाटै मधुको मोबाइल नम्बर मागेा । प्रविधिको प्रयोग भनेको यही त होला नि ! यही प्रविधिले भोलि एउटै ओछ्याउनमा सुतेका लोग्ने र स्वास्नी पनि मुखले नबोली, औंलाले बोल्न थाल्लान् भन्ने पीर छ । अनि मानिसले बोल्नै बिर्सेलान् !
०००
बहिनीले मोबाइल नम्बर एसएमएस गरी । नम्बर पाए पनि तत्कालै फोन गर्न मन लागेन, आखिर मधुसँग भर्खर-भर्खर त हो कुराकानी हुन थालेको । फोनमा त एक पटक पनि कुरा भएको हैन । जे होस्, निजी मामिला भए पनि, मधुको जीवनको महत्वपूर्ण घटना चियाउन मन लाग्यो । फोन गरेँ । एक घण्टीमै उठ्यो । निदाइलो स्वर थिएन, तर, अलिक निराश खालको । भोलि दिउँसो ‘कोजी होम’मा बसेर कफी खाने प्रस्ताव गरेा । आनाकानी गर्दै भए पनि मानिन् उनले ।
०००
‘तपाईँको लोग्नेले किन छाड्यो ? भन्नुस् मधुजी । जनता जान्न चाहन्छन्’ भनेर आफू पत्रकार बन्दै ऋषि धमला स्टाइलमा सोध्नु पनि भएन । व्यक्तिगत जीवनको कुरा गर्न कठिन नै हुन्छ । तर, मैले सोचेभन्दा घटनाले फरक मोड लियो । मधु आफ्नो जीवनको दुःख-सुख साट्न तयार भइन् ।
म दुई दाजुपछिको कान्छी छोरी । सबैकी कान्छी । सानी बालिका सबैको प्यारी हुने नै भएँ । बच्चैदेखि राम्री, औंसतभन्दा । घर नजिकैको स्कुलमा पढ्थेँ । खै के देखेर सात गाउँका केटाहरू पछि लाग्थे । केटी साथीहरू पनि मेरो डाहा गर्थे । म पनि आफूमा केही भए जस्तो मक्ख पर्थेा । हाँस्न, बोल्न मलाई कसैले नभेट्ने । सबैले फरासिली भन्थे । कक्षा ८ मा पुगेपछि गाउाकै साथी मनोज मलाई खास लाग्थ्यो । १० सम्म पुग्दा सम्बन्ध राम्रो बन्यो । खै किन हो, उसलाई साथी अनि जीवनसाथीभन्दा पनि माथि राखेँ । ऊ अब बाबाभन्दा केही तल मात्रै थियो ।
एसएलसी दिनेबित्तिकै घरमा विवाहको कुरो चल्न थाल्यो । बाबा छोरीलाई पढाउन हुन्न भन्ने सोचबाट ग्रस्त हुनुहुन्थ्यो । दाइहरू र भाउजूहरुको साथले एसएलसीसम्म पढ्न पाएँ । हुन त स्कुलमा म कहिले टप थ्रीमा परिनँ । तर, फेल पनि कहिल्यै भइन् । बाबालाई छोरी एसएलसी पास हुन्छे भन्ने नै लागेन । लाग्यो – परीक्षार्थी म, बाबा जाँचकी । परीक्षा सकिएको दिन नै उहाँले रिजल्ट सुनाउनुभयो – असारमा रिजल्ट आउनु अगावै बिहे हुन्छ ।
भर्खर १६ वर्षमा पाइला टेक्दै थिएँ, मेरो दुर्भाग्य भनूँ या के भनूँ, म उमेरभन्दा चाँडै बढेँ । अरु केटीहरुभन्दा अलिक राम्री भएँ । घर नजिकै खेतका गराहरु थिए । खेतको धनी तराई झरेको थियो । खेतमा सबैको आँखा लागेको थियो । मेरा बालाई खेतको गराले तान्यो या के ले तान्यो, खेतधनीको छोरासँग बिहेको कुरा लिएर आउनुभयो । बाले अरु केही हेर्नु भएन, घर नजिकै खेतका गराहरू हेर्नुभयो । जहाँ जान्छे, छोरीले भातै खान्छे भन्ने सोचाइ थियो उहाँको । सधैं त्यही भन्नुहुन्थ्यो । बा जसरी पनि त्यही खेतधनीको छोरासाग मेरो बिहे गर्ने निष्कर्षमा पुग्नुभयो । कसैको कुरा नसुनी आफैंले निर्णय गर्नुभयो । टीकाटालो केही नगरी, बिहेको मिति पक्का भो – २०६३ असार ३ मा ।
बाको निर्णय आएपछि घरका सबैजना त्यसको कार्यान्वयनमा लागे । भाउजूहरू मसँग अत्यन्तै मिल्नुहुन्थ्यो । यसैले मनोज र मेरो सम्बन्ध थाहा थियो । भाउजूहरूले मनोजसाग बिहेको कुरा गर्दा पनि मैले भनेँ – ‘ऊ त मेरो जीवनसाथीभन्दा माथि र बाभन्दा केही तलको मानिस हो । ऊसाग बिहे गर्दिनँ । बाको निर्णय मान्न तयार छु ।’
केही दिनपछि भाउजूले मेरो बिहे हुने पक्का भएको केटाको पहिले नै बिहे भइसकेको र एउटी छोरी पनि रहेको जानकारी ल्याउनुभयो । बाबालाई सुनाउनुभयो, तर त्यसले केही काम गरेन ।
बिहे भयो । नयाँ ठाउँ, नयाँ परिवार र समुदायमा भिज्न कति गाह्रो भो, त्यो त भोग्नेलाई मात्र थाहा छ । सोच्दा पनि तपाईँलाई अनौठो लाग्ला, मैले पहिलो पटक प्रत्यक्ष रूपमा उसलाई बिहेको जग्गेमै देखेको हो । दुलही भित्र्याउने प्रक्रिया र खानापछि सुत्न भनेर म कोठामा पुगेको थिएा, त्यहाँ साना दुई नानीहरू थिए । उसको एउटी छोरी भएको त सुनेकी थिएँ, भित्रिएर जाँदा दुइटी छोरी देख्दा छक्क परेँ । आमा नभएपछि नानीहरु बाबासागै सुत्ने रै’छन् । तीन वर्ष र एक वर्षकी छोरी ।
जे नहुनु थियो, भइसकेको थियो । आज सुरु भएको सम्बन्ध भोलि नै तोड्न सम्भव पनि भएन । १६ वर्षको उमेरमा ३३ वर्षको केटासँग बिहे । बिहे भएको एक वर्षमै छोरीको जन्म । पाँच वर्षभन्दा कम उमेरका तीन बच्चा एकसाथ हुर्काउनु पर्दाको दुःख । मलाई आफ्नै छोरी हुर्काउन त केही थिएन, अरु दुई छोरीहरुलाई सौतेनी आमाको छनक नदिनु र समाजको आँखामा असल आमा बन्नु पनि थियो । त्यो भन्दा पनि आफ्नो मानवीय जिम्मेवारी र मातृत्व सम्झिएँ ।
(कुराकानी गरिरहँदा मधुको मुहारको कान्ति हराउँदै गयो, आँखा भरिँदै आयो । आँखाको डिल नाघेर आँसु कफीको कपमै झर्यो । तप्प । आँसुको स्वाद थाहा भएको मेरो आँखाले पनि मधुलाई साथ दियो । हामी दुवैको अनुहार झुक्यो, निःशब्द ।)
त्यत्तिखेरै कोजी होमको स्टाफ आएर बोलायो – ‘सर, अरु केही ल्याऊँ ?’
हाम्रो शब्दहीनता भंग गर्ने राम्रो बहाना मिल्यो । मैले थप दुई कप कफी नै मगाएँ ।
मनोज र मेरो सम्बन्ध बिहेअघि जस्तो थियो, पछि पनि त्यस्तै रह्यो । ऊ कामका लागि कोरिया गएको थियो । टेलिफोनमा सामान्य कुराकानी हुन्थ्यो । मनोजले कसरी-कसरी खर्चबर्च चाहिन्छ भने पठाइने कुरा निकाल्यो । मैले पनि बूढासँग सल्लाहमै पैसा पठाइदिन आग्रह गरेँ । मनोजले एक लाख रुपैयाँ पठाइदियो ।
दुई वर्षपछि मनोज फर्कियो । ऊ काठमाडौं बस्न थालेको थियो । मनोजको पैसा फिर्ता गर्नु थियो । खै किन हो, मलाई पैसाको लेनदेनदेखि डर लाग्छ । पैसाले सम्बन्ध बिगारेका उदाहरण प्रशस्त छन् । म पनि मनोजसाग सम्बन्ध बिगार्न चाहन्नथें, हुन त मनोजले पैसा फिर्ता मागेको थिएन । बूढाले पनि पैसा फर्काउने कुरा गरेपछि मैले आईएमई गरेर पठाइदिने कुरा गरेँ । तर, उनले पैसा बुझाउन काठमाडौं नै जान र बहिनी (नन्द) लाई पनि भेट्न भने । मैले सहजै स्वीकारेा ।
म बिहानै कलङ्की पुगेँ । नन्दलाई फोन गरेँ । उनी आउनलाई अझै ४/५ घण्टा लाग्ने जानकारी गराइन् । अनि मनोजलाई फोन गरेँ । मनोजले भर्खरै स्वयम्भुमा होटल खोलेको रै’छ । ऊ बाइक लिएर आयो । उसकै बाइकको पछाडि बसेर गएँ ।
मलाई पैसाको भारी र गाडीको ह्याङ उतार्नु थियो । खोजे जस्तै भयो । मनोजको होटलको एउटा कोठामा पल्टिएँ, आखिर मसँग ४/५ घण्टा समय थियो । म त रातभरको अनिदोले निदाएछु । मनोजले आत्तिएर उठायो । ऊसँग केहीबेर कुराकानी पनि भयो । होटल ठीकै चलेको रै’छ ।
कोठा बाहिर गाइागुइा सुनियो । फोनमा कोही बोल्दै थिए, मोहन दाइ भनेको सुनेँ । कसले मेरो बूढाको नाम लियो भनेर अचम्म लाग्यो । कान थापेर कुराकानी सुनें, ‘दाइ, तपाईाले गरेको शंका सही ठहरियो । हामीले कोठामा रङ्गेहात समायौं । अब विचार गर्नुहोला ।’
आवाज चिनेँ । फोनमा कुराकानी गर्ने मान्छे बूढाको फूफुको छोरा रै‘छ ।
(खुइय्य गर्दै मधु बोलिरहिन् । लामो सुस्केरा हालिन् । म कुरा सुन्न हतारिइरहेको थिएँ)
अनि ?
अनि त्यसपछि आकाश खस्यो, धर्ती फाट्यो । जे हुनु नपर्ने थियो । त्यही भयो । केही उपाय नलागेपछि नारीको चरित्रमा प्रहार हुन्छ, मेरो हकमा पनि त्यही भयो । मेरो कुरा सुन्न कोही तयार भएनन् । साँझसम्म पनि नन्द आइनन् । फोन पनि कसैले उठाएनन् । कहाँ जाने, के गर्ने भन्ने अन्यौलका बीच म त्यही दिन नाइटबस चढेर घर फर्किएँ । दुई रात अनिदो हुँदा जरुर अनुहार फरक देखिन्थ्यो नै ।
घर पुग्ने बित्तिकै मोहन बोल्दै बोलेन । हुन त पहिले पनि बोल्ने गरेको थिएन । सासू, ससुरा, देवर कोही पनि बोलेनन् । किन कोही बोल्दैन ? म हैरान भएँ । बोलेर दिने यातनाभन्दा नबोलेर दिने यातना भोग्दै थिएँ । सबै जना ठूल्ठूला आँखाले हेरिरहेका थिए ।
‘मधु, हामीले जे सोचेका थियौं, त्यो पुष्टि भयो । तैंले अब बाटो लाग्दा हुन्छ,’ मोहनको यो भनाइ मुटुमै गढ्यो । टाउको छिनाएर फालेको कुखुरा जस्तो भित्रभित्रै छटपटाएँ ।
हो, म होटलमा बसेकी हुँ, एक्लै पनि होइन । मनोज पनि थियो । तर, उसले मलाई छोएको पनि थिएन । निदाएको मानिसलाई उठाउन गएको हो । उसले मलाई नघचघच्याई मोबाइलमा भाइब्रेसन दिएर उठायो र कोठाबाट बाहिरियो । मेरो दुर्भाग्य, कोठाबाट बाहिरिदै गर्दा मोहनको भाइले देख्यो । जसलाई म बस चढेदेखि नै मेरो पिछा गर्न मोहनले नै लगाएको रहेछ । त्यो भाइलाई ड्राइभर, कन्डक्टर र खलासीको नम्बर समेत दिएको रै’छ । उसले उनीहरूसँग फोनमा कहाँ आइपुगेको भनेर सोध्दै विभिन्न ठाउँमा चियोचर्चो गरिरहेको रै’छ । एक्लै हैन, साथीहरुको ग्याङसहित नै ।
पैसाको रातो मुख भन्ने त थाहा थियो, तर बिना कारण घरबार बिगार्छ भन्ने थिएन । सबै कुरा मेराविरुद्ध योजनाबद्ध तरिकाले भइरहेको रै’छ । एक लाख रुपैयाँ पठाउँदा आईएमईमा बढीमा पाँच सय रुपैयाँ तिर्दा पुग्थ्यो । म नै पैसा बोकेर हिँड्नुपर्ने थिएन । यसअघि नन्दलाई भेट्न कि मोहन वा सासू जान्थे । मलाई आजसम्म भेट्न जा भनेका थिएनन् । यो कुरा बल्ल आज बुझ्दै छु । किन यसो गरियो !
(मधुको कुरा सुनिहरहँदा मलाई कुनै व्यक्तिको यथार्थ घटना जस्तो लागिरहेको थिएन । एउटा फिल्मको कथा सुनिरहे जस्तो लागिरहेको थियो । फिल्मको कथा सुन्दा कलाकारहरुले शब्द मात्रै बोल्थे, यहाँ मधुले त शब्द हैन भावना पोखिरहेकी थिइन् । कफी कडा थियो, चिनी पनि बढी नै हाल्न लगाएको थिएँ । तर, कफी नुनिलो लागिरहेको थियो । सायद म कफी हैन, आँसु पिइरहेको थिएँ ।)
उपाय केही नलागेपछि म टाटा सुमो चढेर सर्लाहीबाट काठमाडौं फर्किएँ । स्कुले साथी मनिषाको घरमा केही दिन आश्रय लिएँ । उनीहरुको दाम्पत्य जीवन देखेर म त लोभिएँ, मेरो पनि यस्तो भइदिएको भए… !
यस्तै भावनामा बग्दा मलाई बेचैन हुन्थ्यो । सुख-दुःख जे भए पनि आमाको काखमा गएर बाँड्छु भनेर लागेँ । भाउजूहरुले मेरा कुरा बुझे पनि अरु कसैले बुझेनन् । केही महिनाको माइती बसाइपछि काठमाडौंमा सानोतिनो व्यापार सुरु गरेँ । यसले मलाई राम्रै भयो। एक वर्षको नाङ्लो पसलले कफी सप चलाउन सक्ने भएँ । मलाई खान-लगाउन पुगेकै छ । बाँचेकै छु ।
मधुले आफ्नो कुरा टुङ्ग्याएकी थिइन् । तर, मसँग प्रश्नहरू बाँकी नै थिए ।
कानुनी बाटो, माना चामल …
(वाक्य पूरा हुनै नदिई मधु बोल्न थालिन्)
मेरा बाले सम्पत्ति हेरेर छोरी दिँदा मेरो यस्तो अवस्था भयो । म पनि फेरि पैसाकै लागि यी कुरा किन गरौं ? म सम्बन्ध तोड्नभन्दा जोड्न नै चाहन्छु । हिजो मात्रै मेरो गाउँको काकी आउनुभएको थियो । मेरै कोठामा बस्नुभयो । मोहन अहिले दिन-रात रक्सीले मातेर छोरीहरुलाई कुट्छ रे । म हुँदा कहिलेकाहीँ मातेर आएर मलाई कुटथ्यो । नारीले सहिदिँदा पुरुषहरु आफूलाई ‘बहादुर’ देखाउन स्वास्नी कुट्छन् । तर, नारीको धैर्यको बाँध टुट्दाको परिणाम उनीहरुलाई हेक्का छैन ।
हो, जँड्याहाको पत्नी बन्न कसलाई मन लाग्छ र ! तर, अझै पनि म जँड्याहालाई सही बाटोमा ल्याउन सक्छु भन्ने लागेको छ । तर, आफूले चाहेर मात्रै पनि केही हुँदैन ।
हुन त मोहन प्राविधिक रुपमा अझै पनि मेरो लोग्ने हो । तर, व्यावहारिक र भावनात्मक रुपमा कहिल्यै पनि थिएन । केवल मेरो शरीरसँग खेलेर उसको स्वार्थ र उत्तेजना शान्त पार्यो, बस् यत्ति हो । उसलाई मेरो बा र समाजले बलात्कार गर्न वैधानिकता दिएका थिए । त्यसको फाइदा उठायो उसले । ३३ वर्षको मानिसले आधा उमेरको मेरो कोमल शरीर लुट्यो । त्यसबाट ऊ हलुङ्गो हुन्थ्यो । म भने पीडा र वेदनाले गह्रुङ्गो भएँ ।
परिवारसँग त सम्पर्क टुटिसकेको थियो । काकीले मोहनले छोरीहरु कुटेको सुनाउँदा बेचैन भएर फोन गरेा । संयोगवश छोरीले नै फोन उठाई, छोरीसँग बोल्न पाएँ भएर मन रमायो ।
‘छोरी, चिन्यौ ? म तिम्रो मामु बोलेको’ भन्ने बित्तिकै छोरीले उताबाट तथानाम गाली गरी । त्यस्तो शब्द मैले जीवनमा कहिल्यै सुनेकी नै थिइनँ । चार वर्षकी बालिकाले त्यस्तो बोल्न सक्छे भनेर मैले कहिल्यै कल्पना गरेकी थिइनँ ।
त्यो रात मेरो कानमा छोरीले बोलेका शब्दहरु गुञ्जिरहे – ‘मेरो कोही पनि मामु छैन, तँ रण्डी मलाई कहिल्यै फोन नगर्, तँ र…. ।’
त्यो रातदेखि म राम्रोसाग निदाउन सकेकी छुइनँ । बालमतिष्कमा जे भरिदियो, त्यही बोल्ने न हो । सुगालाई पट्टु कहू भने जस्तो त हो भनेर चित्त बुझाउन खोजेा तर सकिनँ । छोरी बुझ्ने भएपछि आमा भनेर खोज्दै आई भने ठीकै छ, म चाहिँ खोज्दै जान्नँ । तर, मभित्र रहेको आमाको मनले भनिरहेको छ – छोरी एक दिन आमा खोज्दै आउँछे ।
छोटो चिनजानमा मैले आफ्ना सबै कुरा भने, मन हलुङ्गो पनि भयो । दुःख बाँडे घट्छ, सुख बाँडे बढ्छ भन्छन् । आज राति राम्रोसाग निदाएँ भने दुःख घटेको सम्झनेछु ।
०००
सदा झैं अफिस जानलाई उठेको मात्रै थिएँ, मधुको फोन आयो । फ्रेस आवाजमा बोलिन् । अनि एयरपोर्टमा छोड्न आउन आग्रह पनि गरिन् ।
‘किन नि ?’
‘म आज साँझ इजरायल जाँदै छु । अफिस सकेर बाई भन्न आउनुहोला । कम्तीमा मेरो बिदाइमा हात हल्लाउने कोही त रै’छ भनेर चित्त बुझाउँछु ।’
अब मैले विमानस्थल नपुगी नहुने भयो । जाने निर्णय गरेँ । तर भन्न चाहिँ कोसिस गर्छु मात्रै भनेँ ।
‘तर इजरायल किन नि ?’ जिज्ञासा बाँकी नै थियो ।
हाँस्दै ‘पैसा कमाउन’ भनिन् र फेरि गम्भीर भइहालिन्, ‘घरमा बूढा भएका सासू-ससुराको स्याहार गर्ने इच्छा थियो, त्यो पाइएन । अब इजरायल गएर केयरगिभर बन्छु । धेरथोर पैसा पनि कमाउँला । छोरीलाई पढाउँछु । एसएलसीपछि आफूले पढ्न पाइनँ, छोरीलाई पढाउनुपर्छ ।’
मधुले खुसी भएर इजरायल जाने कुरा गरेको दिन अफगानिस्तानमा रोजगारीमा गएका १२ नेपालीको हत्या भएको समाचार पढ्नुपर्यो । मधुको खुसीभन्दा मलाई देशको बेथितिले विदेशिन बाध्य ती युवाको पीडाले छोयो ।
म वाचा गरेर पनि मधुलाई बिदा गर्न विमानस्थल गइनँ ।
२०७३ साउन ८ गते १५:५१ मा प्रकाशित
(स्रोत : Onlinekhabar.com)