~ए.पी. सुमन~
बुर्ज खलिफाको टुप्पाबाट
कसैले रातो इट्टा खसाल्यो भने
तल मेरो टाउकोसम्म ठोकिन
कति समय लाग्ला आमा ??
के म त्यति समयमा अन्तिमपल्ट
एकचोटि तिम्रो न्यानो काखमा
लडीबुडी खेलेर फर्कन सकुँम्ला त ??
छुट्टिने बेला तिमीले शिरमा पहिराइदिएकी
सफा ढाका टोपीमा निधारभरिका
राता अक्षेता झर्ने डरले शिर ठाडोे पार्दै
उडेको म,
ओलर्ने वित्तिकैको ५० डिग्रीको तातो घाममा
त्यही टोपीले पसिना पुछेर
राष्ट्रियता मैलाएको हुँ
‘आई लभ नेपाल’ लेखेको नयाँ टिसर्ट
निथु्रक्कै भिजेपछि,
राष्ट्रियता निचोरेर सुकाएको हुँ
आमा,
हम्रो झण्डाको रंग भन्दा नि रातो
‘यता’ को तातो घामले
‘राष्ट्रि–यता’ नभन्दो रै”छ
आमा,
राष्ट्र ‘उता’ म ‘यता’
‘राष्ट्रियता’ भन्नु नि के नै बाँकी रह्यो र
म भन्दा एक हप्ता अघि
मेरा जस्तै अग्ला सपनाहरु बोकेर
अरव आएको साथीलाई
सखारै एयरपोर्ट सम्म छोडेर आएँ बा,
पहिल्यै तीरचार जना साथीहरु
उसैलाई पर्खिरहेका थिए, उ जस्तै,
उसैगरी रातो बाकसभित्र
कता कता मलाई डर लाग्छ बा,
हप्ता दिनपछि कतै मेरो पालो आयो भने
साथीहरुसँग रमाउँदै आएको म,
फर्कदा मेरो रातो बाकस
कतै एक्लै हुने त हैन
यो खाडीको तातो बालुवामा
रातो रगत बगाएर तिमीलाई रातो फरिया
आमालाई रातो साडी, छोरालाई रातै नाना,
बालाई रातै कमिज, लिएर आएँ भने त
घरको छानो पनि रातै टिनले
छाउँला है प्रिया,
तर,
रात पर्नु अगावै
तिम्रो जीन्दगीमा सधैँ ‘रातै’ पर्नेगरी
तिम्रो सिउँदोमा कहिल्यै ‘रातै’ नपर्नेगरी
म रातो बाकसमा कोचिएर आएँ भने,
हर्केको छोराले झैँ मेरो छोराले पनि
म भोकै मर्ने डरले
बाबा केही किनेर खानुँ है भन्दै
यै रातो बाकसभित्र
सिक्काहरु खसाल्छ होला है,
त्यतिबेला
विन्ति मेरो फोटोमा चैँ
रातो माला नलगाईदिनु ल
(स्रोत : Ujyaalolalteen.com)