कविता : पहिचानका व्याधाहरु

~अदृश्य पाठक ‘लाक्पा’~Adrishya Pathak 'Lakpa'

ओ ! आत्मघातीहरु हो
ए, आफ्नै पहिचान निमोठ्ने अपराधीहरु हो
के तिमीलाई अलिकतिपनि विस्मत छैन ?
तिमी आफ्नो पहिचान ‘पद र चाट’सँग साट्दैछौ
हिजैदेखि हाम्रो नाकको प्रतिनिधित्व गर्दै
हाम्रो अनुहार देखाएर तिमीहरुले
सत्ता र भत्ताको मत्ता चढ्यौं र चढिरहेकाछौ
वास्तवमा आत्मघाती शेरधन तिमी पहिचानका व्याधा हौ

तिमीमा मानवता छैन ?
तिमी धर्तिका लागि बोज हौ
पहिचान अधिकारको कुरा छोडेर
सिंहदरबार भित्रै र्याल चुहाउँदै
लोलोपोतो र गुलामी गर्दै
आफूलाई जन्म दिने माता विर्सने
वास्तवमा व्यावीचारी कृपाशुर तिमी पहिचानको व्याधा हौ

ठँसठँस्ती कन्दै, उँघ्दै
न बाउको वृत्त थेगेका छौं
न, नाकको इज्जत राखेका छौं
सत्तामा महादेवका झैं त्रिनेत्र लगाउँदै
फेरि आफ्नै नाक, कान काट्न
फेरि आफैले आफूलाई दासी बनाउन सघाउँदै
आफ्नो बारेमा च्वाँसम्म ओकल्न नसक्ने
वास्तममा नकचरो प्रकाशमान तिमी पहिचानको व्याधा हौ

न बोल्न जान्दछ, न बुझ्छन् राजनीति
हाम्रो नाक देखाई कुर्सी खेलाउँदैछौं
सपेराले सर्प नचाएँ झैं
तिमीलाई खेलाई राखेका, नचाई राखेका छन
तिमीहरु ग्वाँर हौ, आफैले आफैलाई समाप्त पार्दैछौ
र, सघाउँदैछौं आफ्नो अस्तित्व मेटाउन उनैलाई
अब तिमीमा न संस्कृती बाँकी छ न संस्कार नै
आफ्नै अस्तित्व नस्वीकार्ने तिमीहरु के मानव हौ र ?
वास्तवमा कलंक गच्छदार तिमी पहिचानको व्याधा हौ

गुलामी गर्न जानेको रै’छौ भैगो
पद र सुख चाहेको रैछ तिमीलाई नै
आफूलाई व्यक्तिगत रुपमा आत्मसमर्पण गर्दै
तिमी आफ्नै जातिको इतिहास समाप्त पार्न उद्दत छौं
सभ्यता मेटाउन क्रियाशिल छौं
तिमीलाई लाग्दो हो, ठूलै कर्म गरेँ भन्ने
तर, तिम्रा ति पापकर्मको फल पाउन
अब, अर्को जुनी कुर्नै पर्दैन ।
वास्तवमा छेपारेहरु हो तिमीहरु पहिचानका व्याधा हौ

वस् !
अब तिम्रा सन्तानले तिम्रो कर्तुत उदंगो बनाउने छ
तिमी विरुद्ध तिम्रा अर्धंगिनीहरु उर्लिनेछन्
तिम्रा आफन्त तिम्रो नौंटंकी विरुद्ध
जुपडीबाट उठ्दै छन्, सडक तातिदैछ
शक्ति संचय भइरहेको छ र प्रहार गर्ने तैयारीमा
तिमी सत्ता स्वाद चाख्दै गर ।
आफ्नो विरुद्ध आफै फलाग्दै गर ।
विद्रोहको झिल्को तिम्रो घरैबाट सल्काँदैछ
टोलटोलमा तिमी विरुद्ध दस्ता तम्तयार छन्
प्रतिशोध साँध्न सक्छन्, लखेटिन्छौं । होसियर !
तिम्रा दिन गिन्ती शुरु भइ सकेको छ
तिमी अझै सचेत नहुने भए
तिम्रा जरो किलो उखेलिन्छन्
तिम्रा नामनमेस मेटाइदिन्छौं
आफैलाई नचिन्ने तिमीहरुलाई कठघरामा उभ्याउँइन्छ
र, तिमीहरुलाई जुगजुगसम्म भनिरहन्छौं
वास्तवमा कुलांगारहरु तिमीहरु पहिचानका व्याधा हौ ।

(संघीय गठवन्धनको ३५ औं दिनको रिले अनसनमा वाचन गर्ने गरी तयार पारिएको कविता ।–कवि)
#lakpa1g@gmail.com

(स्रोत : Sherpakhabar.com)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.