कविता : जीवनका रंगहरु

~गोपीकृष्ण प्रसाई~Gopikrishna Prasai

जीवनका रंगहरु माथि माथि उड्ने बादलमा खोजेँ
सप्तरंगी इन्द्रेणीलाई जीवनको परिभाषा सोधेँ
लहर बोकेको समुन्द्रमा पो जीवनको गति पाउँछु कि ?
शिखर आरोहण गरी फर्कनेहरुमा पो जीवनको गीत भेट्टाउँछु कि ?

ध्रुव ताराले पनि त आदिकालदेखि अस्तित्वको रंग बोकेकै छ
ओजन तहले वायुमण्डलमा खतरनाक किरणहरु रोकेकै छ
फूलहरु फक्रेको देख्छु पातहरुमा हरियाली पाउँछु
आकासमा विमान उड्छ, विज्ञानको बोलिसँग रमाउँछु !

जता जता रहर बढ्छ उतै उतै माया बगे जस्तो
जीवन भित्र रंग छर्ने दैवको लिला छ नै यस्तो
साधु सन्तहरु तपस्यामा रंग देख्छन्
प्रेमी प्रेमिकाहरु सारा रंगहरु प्रेममै भेट्छन् !

जीवन बचाउने सूर्य जलिरहेछ विशाल ब्रह्माण्ड भित्र
बाँचिरहेछ प्रीय धर्ती ज्ञानी जनको दृष्टि भित्र
यो रंग हो वसन्तको अनि त बाहार आउँछ है
ऋतुको चक्रहरु सबैमा आफ्नोपनको उमङग छाउँछ है !

रंग खोज्दै ज्योतिषहरु ग्रह नक्षत्रका कुरा गर्छन्
माया गर्दै रवि धर्तीमा पारिला किरण छर्छन्
समुन्द्रको पसिना बोकेर उडी हिँड्ने बादल
जीवन रंगिन बनाउन जाग्छ सबैमा तल तल !

देश भित्र जम्न मन लाग्ने पनि रंगहरु नै हुन्
परदेशमा रम्न अह्राउने पनि रंगहरुनै हुन्
रंगका धुनहरु सुनेर आकासमा पन्छीहरु उडिरहे
ड्राइभर दाइको संगीतसँगै धर्तीमा गाडीहरु गुडिरहे !

विज्ञान र दर्शनले धर्तीमा फरक फरक रंग भर्छन्
सन्देश बोकेर ब्रह्माण्डको आकासबाट उल्का झर्छन्
आमाको माया बोकेको रंगले ह्रृदय रमाउँछ
वियोग हुँदा चिरिन्छ मुटु रंगहीन बनाउँछ !

आकासले माया गरेर नै बन्जर धर्ती हराभरा छ
जीवन उमार्ने पृथ्वीमा सृष्टिको गरा गरा छ
प्रेम बाँडेर दर्शनको
प्रेम बाँडेर ज्ञानको
प्रेम बाँडेर ममताको
चलेका छन् रंगहरु सुन्दर बतासको तालमा
जीवनका गीतहरु गुन्जिरहे भूगोल भरि संजालमा !

मखमली सपनाहरु साँचेर आकाश धर्तीमा निदाए जस्तो
आफ्नै रंग नचिनेर मान्छे आफै भित्र बिझाए जस्तो !
सुक्ष्म तत्वको पनि रंग छ आकास गंगाको पनि रंग छ
फरक फरक जीवनको धर्तीमा सबैको आफ्नो बाँच्ने ढंग छ !

मनको फूलबारी आज मनकै रंगले हरियो भयो
बढेर असन्तुलन मनमा मनभरी पहिरो गयो
ग्रहसँग गासिने पनि आखिर मनै हो
चराचरलाइ बुझ्न खोज्ने पनि त रंगिन मनै हो !

आफैले आफैलाई सम्हाल्दा झन् कञ्चन बन्छ मन
सम्हालिन नसकेको पल ह्रृदयमा आगो बल्छ दन्दन
जीवन बगिरहेछ आफ्नै गतिमा खोला र नदी सरि
रंगको प्यासले दुखिरहेछ मान्छे किन हो घरि घरि !

सृष्टिकर्ताले छरि दिए धर्तीमा नौला नौला रंगहरु
रंगले छर्छ जीवन ज्योति अनि जीवनका आयाम र तरंगहरु
भगवानको यस लिलामा रंगहरु फुल्छन थरिथरि
रंगको कला बिग्रदा दुख बढ्छ जीवनमा कठैबरी !

(स्रोत : सत्यतथ्य मासिक)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.