कविता : यो समयको अन्तिम अन्तरवार्ता

~उमेश राई ‘अकिञ्चन’~Umesh Rai Akinchan

फेरि पुग्नुछ मैले
पुग्न नसकेको गन्तब्य

नसोध मलाई
कति लामो छ
प्रधानमंत्रीको जुँगा
वा
भर्खरैं पेट्रोल पम्पमा राखिएको
गाडीहरूको लश्कर

नसोध मलाई
कति भयानक हुनसक्छ प्रतीक्षा ?

बरु सोध्नु
यो हावा र पानीको लागि
कत्ति खाइयो
पुलिसको डण्डा
अश्रुग्याँस
अनि
कत्ति पटक सुतियो
हिरासतको चिसो क्षिडी

नभन मलाई
तिम्रो चिम्सा आँखाभरि
सुहाउँदैन
यो
कुर्सीको सपना

म
केवलकारका पाइलाहरूले
कोर्न चाहान्छु
अग्लो अति अग्लो
पहाडजस्तो नाम

भदौंको घाम
र
बेरोजगार हुनुको पीडाले
उसैंगरी पोलिरहदा
कहिलेकाहीं यस्तो लाग्छ
मानौं
धन नभएको प्रेमी
र
देश नभएको शरणार्थी
दुवैं हुँ म

जहीँतहीँ
बजिरहेको बेला
संघियताको संगित
अनि
गणतन्त्रको गित

अन्तिम पटक
फेरि पनि
नसोध
गणतन्त्र
राम्रो कि राजतन्त्र ?

भर्खरैं अफ लाइन भएकी
प्रेयसी
र
राष्ट्रको नाममा सम्बोधन सकेका
राष्ट्रपतिको अनुहार
उस्तै‌-उस्तैं
प्यारो लाग्छ मलाई ।

विराटनगर
हालःकिर्तिपुर ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.