~विनोद न्यौपाने~
अचेल
एक हुल बाजहरु,
सहर पसेकाछन्,
परेवाको खोल ओढेर
र
उपदेश दिइरहेछन्
त्याग र सहिष्णुताको
अनि
आँखा छल्दै
घाँटी निमोठिरहेछन्
परेवाहरुको ।
रगतले रंङ्गिएका
चुच्चा र नङ्ग्राहरु
पखेटाभित्र लुकाएर
ध्यानमग्न भएको स्वाँङ पार्दै
छड्के नजर लगाउँदै
राज गरिरहेछन्
भवन र धरोहरहरुमा
आस्थाका केन्द्रहरुमा
परेवा मुक्तिका
हुंकार छाड्दै
एक पछि अर्को मार्दै
शहीद घोषणा गरिरहेछन्
मेरा मन्दीरका परेवाहरुलाई ।
ती
छद्म भेषीहरु
दुष्ट बाजहरु
मानव बस्तिहरु विषाक्त बनाइरहेछन्
मुुक्तिका नाममा,
रोपेर विष बृक्षहरु
र
आफू विराजमान् छन्
गजूरहरुमा,
छद्मभेषी ब्वाँसाहरु ।
राँको सल्काई बिद्रोहको,
चारैतिरबाट,
कुहिरिमण्डल बनाई आकाशलाई
झम्टिरहेछन् निर्दोष परेवाहरुलाई ।
गगन भेदी स्वरहरुले
राग अलाप्तै
शान्ति र मुक्तिको,
टुँडाल र खोपीहरु
भागबण्डा लगाइरहेछन्
तुच्छ स्वार्थमा लिप्त भएर
एक पछि अर्को
षडयन्त्र रचिरहेछन्
धुर्त पक्षीहरु
कुटिल पाखण्डीहरु
छद्मभेषी शिकारीहरु
धोकेबाजहरु
सहर छिरेका बाजहरु,
सहर छिरेका बाजहरु ।।
(स्रोत : सत्यतथ्य मासिक वर्ष २, अंक ३, डिसेम्बर २०१३)