~नमन अमृत ‘भु–वन’~
सानै हल्ला फैलाउनु देशको हालत बुझिन्छ
एउटै चाल चलाउनु देशको हालत बुझिन्छ ।
‘नेताहरू कस्ता छन् ?’ भन्ने प्रश्नको पिल्लर
इन्टरनेटमा ढलाउनु देशको हालत बुझिन्छ ।
उद्योग गर्छु म भनी विकासे साथ मागेर
आफ्नो श्रम दलाउनु देशको हालत बुझिन्छ ।
नयाँ विचार हो भन्दै पुरानै मत पेटिका
घनले फुटाई जलाउनु देशको हालत बुझिन्छ ।
दुई–चार जना थुपारी नयाँ शक्ति भनेर
हावामा हात हलाउनु देशको हालत बुझिन्छ ।
देशको नेता हुँ भनी दिल्ली–बेइजिङ धाएर
आफ्नो दाल गलाउनु देशको हालत बुझिन्छ ।
आयो आयो भुकम्प चुनाव हुन्न मंसिरमा
इपिसेन्टर पहिल्याउनु देशको हालत बुझिन्छ ।
(स्रोत : सत्यतथ्य मासिक वर्ष २, अंक १२, सेप्टेम्बर २०१३)