~दिव्य गिरी~
म
अर्थात
हामी
दौडिरहेछौं सदिऔंदेखि
सपनाको पछिपछि
सपनाकै भारि बोकेर पिठयूँमा
अफसोच !
सपनाले नै लखेटिरहेछ निरन्तर
सपनाले नै डसिरहेछ युगयुगान्तर
धेरैधेरै सपनाहरू राखेर आँखामा
धेरैधेरै चाहनाहरू समेटेर मनभित्र
सपनाकै महल निर्माणमा जुटेका
म
अर्थात
हामी
सपना पूरा गरिदिन्छु भन्ने
तिनै ठेकेदारहरूबाट ठगिएका छौं
तिनै ठेकेदारहरूबाट लुटिएका छौं
यति बेला तिनीहरू
आफ्नै सपना पूरा गर्न उद्यत छन्
आफ्नै चाहना पूरा गर्न तल्लिन छन्
आफ्नै स्वार्थ पूरा गर्न मरिमेट्दै छ
हामी केवल हामी छौं
हामीसँग
भोको पेट छ
नाङ्गो आङ् छ
चुहिने छानो छ
र कहिले पूरा नहुने सपनाहरू !
म
अर्थात
हामी
कुँदिरहेछौं सदिऔंदेखि
नीरिह, अशिक्षित र सोझो मानव भएर
सधैंभरि भाग्यविधाताहरूको भरमा बाँचिरहेछौं
दुर्भाग्य !
भाग्यविधाता आफै अघाएको छैन
ऊ भोको साँढेझैं चरिरहेछ
हाम्रो सपनाको फाँटमा
ऊ भोको स्यालझैं झम्टिरहेछ
हाम्रो चाहनाको छातीमा ।
म
अर्थात
हामी
फगत दौडिरहेछौं सदिऔंदेखि
सपनाको पछिपछि
सपनाकै भारि बोकेर पिठयूँमा ।
टीकाथली-५, ललितपुर, काठमाडौं
(स्रोत : कविता कुसुम)