संस्मरण : जीवनको मोडमा रोन

~बिकल आचार्य~Bikal Acharya

हिजो बेलुकी म टेलिभिजन हेरेर बसिरहेको बेलामा टेलिफोनको घण्टी बज्यो, मैले हत्तपत्त गएर उठाएँ ।

‘ए ! म रोन बोलेको, के छ तिमिहरुको हालखबर ?’

‘सबै ठिक छ । बरु के छ तपाईको हालखबर ?’

मेरो पनि ठीक छ, उही त हो, घरि बाहिर उद्यानमा बस्यो त कहिले टेलिभिजन हे-यो, समय त्यसै गइहाल्छ नि । उसमाथि आज डेभिड पनि घरमा नै छ ।’

‘के खानुभयो त आज ?’

‘खाएँ, धेरै खाएँ, यो उमेरमा पनि मलाई खान पिउन खुब मन लाग्छ । मलाई राम्रो हेर विचार पुगेको छ ।’

‘तपाई त भाग्यमानी मान्छे हो, तपाई आफ्नो स्वास्थ्यप्रति गर्व गर्नुपर्दछ ।’

‘धन्यवाद ! अनि तिमी र परिवार सबै आराम नै छौ होला, होइन ?

‘धन्यवाद, हामी सब सञ्चै छौँ, उही सधैँ एउटै दिनचर्या त हो नि ।’

‘राम्रो, मलाई खुशी लाग्यो ।’

‘म भोलि बिहान करिब एघार बजे आउँदैछु, तपाईलाई भेट्न । लामो समय भयो हाम्रो भेटघाट नभएको ।’

‘ओहो ! यो त धेरै राम्रो खबर भयो, तिमीलाई भेट्न म कुरिरहन्छु । तिमीलाई देख्न म आतुर छु ।’

म पहिलोचोटि ६ महिनाभन्दा बढीको अन्तरालमा गाडी चलाएर मेरो घनिष्ट सम्बन्धका यी बृद्ध रोन र उनका पुत्र डेभिडलाई भेट्न जान लागेँ । डेभिड त म खुब मन मिल्ने साथी हुन् । हाम्रा सबै कुराहरु मिल्दछन्, सबै बातचित गरिन्छ । हर दिनमा धेरै पल्ट सम्पर्कमा हुन्छौँ । उत्तम साथीमा हुनुपर्ने सब गुण यिनमा छन् । डेभिडका पिता रोन पनि मेरो लागि धेरै घनिष्ट व्यक्तित्व हुन् । म विरामी हुनुभन्दा पहिले उनले नब्बे वर्ष पुरा गरेको उपलक्ष्यमा उनकै घरमा भेट भएपछि प्रत्यक्ष रुपमा ६ महिना भन्दा बढी भयो देखेको छैन । तर हर समय यी वृद्ध मेरो दिलमा रहन्छन् अनि सायद म पनि यिनको ख्यालमा रहन्छु होला । यसरी लामो समयपछि म लामो दुरीको सफरमा हिड्ेँ । अहिले म जान लागेको स्थान करिब ६० माइल टाढा छ । बीच बाटोमा धेरैपल्ट उनीहरुको खुब सम्झना आइरहेको छ । हाम्रो चिनजान सुरु भएको १३ वर्षभन्दा बढी भइसक्यो । मलाई हरदम आड दिइराखेका छन् र चाहेको बेलामा हर हमेसा मेरो साथ भएका छन् । सुख दुख हामी एक आपसमा बाँडेर बसेका छौँ । यी रोन हरेक आइतबार चर्चमा जान्छन् र प्रार्थना गर्दछन् अनि कहिलेकाहीँ यिनी आफै प्रवचन पनि दिन्छन् । म अस्पतालमा रहेको बेलामा यिनले आफ्नो चर्चमा सबैलाई मेरो नाम लिन लगाई ‘हाम्रा साथी ….. आजको यस घडीमा अस्पतालमा छन्, उनको सुस्वास्थ्यको कामनाको निमित्त भगवानसँग प्रार्थना गदैछौँ’ भन्दै पुरै दिन मेरो नाममा सबैलाई सम्पूर्ण कार्यक्रमहरुमा भाग लिन लगाएका थिए । यसपछि मलाई फोन गरी अब तिमी चाँडै नै घर फर्कनेछौ, चिन्ता गर्नुपर्दैन भनेर मलाई निराशाका दिनहरुमा पनि तसल्ली दिएका थिए ।

पुरा बाटोमा डेभिडको भन्दा बुढा रोनको धेरै याद आयो । यिनले मलाई गरेका माया, प्रेम र विश्वासले मलाई भाग्यमानी बनाएको छ । उनको श्रीमतीको देहान्त हाम्रो चिनजान हुनुभन्दा पहिले नै भएको थियो तर पनि उनको फोटो र अरु धेरै कुराहरु मलाई देखाएका र सुनाएका छन् । करिब सवा घण्टाको यात्रापछि म उनीहरुको घरमा पुगेँ । दुवै जना स्वागत गर्न आइपुगे । बूढा अलि गलेका, स्मरण शक्ति कमजोर भएका, शारीरिक रुपले पनि अलि अशक्त जस्तो देखिए । तर पनि बोली उस्तै प्रकटिलो, हाँसो उही खाले, उत्साह बुलन्द पारी रहेका ती वृद्धलाई भेट भई हाल मिलाउँदा मनमा धेरै तर्कनाहरु आइरहे । करिब ९१ वर्ष पुग्न आँटेका, एउटा युगको पुरै साक्षी, मानवताको पूजारी, सभ्यताको मूर्धन्य व्यक्तित्व मेरो अगाडि पाउँदा मलाई अपार सन्तुष्टि आइरहेको छ । बूढाले कफी बनाउन पानी थिचे अनि उनको र मेरो टाँसिएको ठूलो तस्वीर भित्तामा देखाउँदै कति वर्ष भयो होला यो फोटो खिचिएको भनेर सोधे । करिब ८÷९ वर्ष भयो होला भने । अनि के गर्ने, समय कति चाँडै जान्छ है, दोश्रो विश्वयुद्ध सकिएको अस्ति जस्तो लाग्दछ, तिमीहरु त जन्मेकै थिएनौ भनेर हाँसे । कफी लिएर हामी बैठक कोठामा गयौँ ।

‘अँ साँच्चि ! तिमीलाई त भन्नै बिर्सेछु मैले, यो म बस्ने सोफा र माथि म सुत्ने खाट त नयाँ हो, गत हप्ता मात्रै किनेको । यहाँ हेर त ! यी बटनहरु दवाएपछि आफैं तल, माथि जहाँ पनि जान्छ । खुट्टालाई आराम गर्न पनि सकिने । परिआए खाट पनि बनाउन हुने’ भन्दै खुब फुर्कँदै मलाई असाध्यै चाखको साथ देखाइरहेका छन् । हामी त्यहाँ बसेर गफ गर्न थाल्यौँ । आ–आफ्नो दिनचर्याका विवरणहरु सुनाउँदै बस्यौँ । बेला बेलामा बुढाले अरु केही पिउने भनेर हरदम सोधिरहेका छन् । डेभिड र म बाहिर उद्यानमा गयौँ । डेभिडको सौखचाहिँ फूलहरु रोप्ने अनि जानकारी राख्ने छ । मलाई त्यहाँ भएका करिब २०० किसिमका विभिन्न फूलहरु देखाए । कुनै नेपालका लालीगुराँसहरु त कुनै जापानका । अरु जातिका फूलहरु अनि अमेरिकाका रंगीचंगी कुसुमहरु । यिनीहरुको वासनाले पुरै वातावरण सुगन्धित बनाइरहेको छ ।

‘आज बिहान त अचम्म गर्नुृभयो मेरो पिताजीले’ डेभिडले भने । के भयो र, के गर्नुभयो भनेर कौतूहलताका साथ सोधेँ । उनी भन्न थाले, ‘आज बिहान ४ बजे नै मेरो कोठाको ढोका ढकढक्याएको सुनेँ, के भयो होला भनेर निन्द्राको सुरमा हत्तपत्त ढोका खोलेको त मेरो पिताजी सुट, टाइ, जुत्ता लगाएर खोइ त यसबेला पनि आइपुगेनन् । म अघिदेखि बसिरहेको छु तल कुरेर, किन अवेला गरे होलान् भन्दै मलाई हेर्नुभयो । मैले अहिले भर्खर ४ बज्यो, ११ बजेमात्रै आउँछन्, अहिले सुत्नुहोस् भनेँ । तिमी आउने भनेको थाहा पाएदेखि हिजोबाट नै खुसीको चेहरा आएको थियो । बुढो मान्छे दिनभर घरमा बस्दा बस्दै एक्लै वाक्क लाग्दो होला । म पाँच दिन काममा जान परिहाल्छ, के गर्ने !’

रोन नयाँ मेचमा त्यही बटन दवाउँदै यता उति गरिरहेका थिए । उनलाई यो गर्दा खेल जस्तो आनन्द आइरहेको हो कि जस्तो अनुमान गर्न सकिन्थ्यो । उनलाई आजभन्दा १२ वर्ष अगाडि हृदयघात भएको थियो । एन्जियोप्लास्टीमा अरु केही पनि गरेको होइन, उही औषधि खान्छन् स्वस्थ्यकर छन् । यो उमेरमा पनि धेरै कुरामा सक्षम छन् । त्यहाँ कोठाभित्र गएर मैले हामीलाई उनले सधैँ भन्ने गरेका हृदयघात पछिको अनुभव सुनाएँ । उनले हामीलाई भन्ने गर्थे कि हृदयघात भई अस्पतालमा बसी उपचारको क्रममा नर्सले छातिभरि टछासेर टे«डमिलमा व्यायाम गराउन सुरु गर्नुभन्दा अघि यिनलाई भुलाउन गफ गर्न थालिन् । नर्सले उनलाई सोधिन्, ‘रोन, कुकुर पाल्नु भएको छ तपाईले ?’ रोनले जवाफ दिए, ‘किन यो टे«डमिलमा हाल्न ?’ नर्सले भनिन्, ‘होइन होइन तपाई आफै पनि हिँड्नुहुन्छ, मुटुका रोगीलाई हिँड्नु राम्रो हो क्या ।’ यो सुनेपछि बुढा खिसिक्क हाँसे, मैले त सब बिर्सिसकेँ भने । हामी तीनजना बसेर धेरै बेरसम्म जीवन र मृत्युबारे अनेक कुराहरु ग-यौँ । मैले उनलाई प्रश्न गरेँ, ‘तपाई मृत्युदेखि डराउनुहुन्छ ?’ उनले जवाफ दिए, ‘इमान्दारीपूर्वक भन्ने हो भने मलाई मृत्युको डर पटक्कै छैन । त्यसो भनेर म यसबेला नै मर्न चाहन्न । मृत्युको सत्यलाई त हामी सबैले स्वीकार गर्नु पर्छ । यो भनेर हरदम मृत्यु सम्झेर विलाप गरिरहने होइन । हामीले भन्ने गरेको तीन वीस अनि दस मैले पहिले नै पार गरिसकेँ । अहिले त म बोनसमा जिइरहेको छु तर मेरो शारीरिक अवस्था अलि कमजोर छ । यो नत्र मेरो मन सोह्र वर्षको हुँदामा भन्दा कम छैन ।’ यति भनेर उनले लामो हाँसो निकाले ।

हामी दिउँसोको खाना खान नजिकैको भोजनालयमा गयौँ । जे दिइएको छ, खुब मजासँग यी बुढाले खाए । बेलाबेलामा हामीहरुलाई किन राम्रोसँग नखाएको भनिरहन्थे । उनले धेरै वर्ष स्टील कम्पनिका डाइरेक्टर भइ काम गरेका थिए । चाहिँदो सम्पत्ति छ, कहिल्यै नचाइने कुरामा पैसा खर्च गर्दैनन् । कहिल्यै पनि ठूलो मान्छे सम्झेर घमण्डको भागिदार भएका छैनन् । तडक भडक झिकेर र मातेर कहिल्यै पनि हिँडेका छैनन् । उनी त्यस समाजको उच्चमध्यम वर्गीयमा गनिन्छन् । आजसम्म यिनको कारणबाट कसैलाई नोक्सान भएको जस्तो लाग्दैन । उनी सज्जन, सरल र इमान्दार व्यक्ति हुन् । यस उमेरमा पनि आफ्नो लागि सक्षम छन्, हर चिजमा निपुण छन्, हर क्षेत्रमा पुग्न सक्छन् । उनका जीवनमा पनि उतार चढावहरु छन् । उनको आफ्नी बहिनी ५२ वर्षको उमेरमा परलोक भइन् । आफ्नी जीवन संगीनीको विछोड पनि आत्मसात गनुप¥यो । सारा साथीभाइहरु अघि लागिसके पनि हरदम सकारात्मक सोच बनाएर जीवनको यस समुन्द्रमा पौडी खेलिरहेका छन् । मैले खाना खाँदै बुढालाई हेरिरहेँ । उनले मलाई आफ्ना बचपनका फोटाहरु देखाए । उनी ८/१० वर्ष हुँदाका आफ्नो बहिनीसँग खेलेका, आफ्ना बाबु–आमासँग छुट्टीमा गएका, हजुरबुबासँग काखमा बसेका आदि उनका पूर्वस्मृति गराउने फोटोहरु मैले हेरेँ । त्यसबेलाका रहन सहन, मान्छेहरु, बसउठ झल्कने अति चाखलाग्दा तस्वीरहरु मलाई धेरैपल्ट देखाएका थिए । उमेरगत हिसाबले क्रम मिलाउँदै हरेक वर्षको आफ्नो फोटो एल्बममा राखेका छन् । आफ्नो जीवन चक्रमा भएका अनेक फोटोहरुको अलग्गै एल्वम पनि छ । त्यहाँ भएको सून्यतालाई भंग गर्दै मैले भन्न थालेँ, ‘तपाईको हजुर बुबा त सोभियत रुसका स्टालिन जस्तै लाग्छ मलाई । उस्तै जिउडाल अनुहार अनि जुंगा, होइन त ?’ बुढाले अलि भावुक भएर भने, ‘मेरो हजुरबुबाले मलाई अति माया गर्नुहुन्थ्यो । रोन ! जहिले पनि चाँडै चाँडै खानुपर्दछ भनिरहनु हुन्थ्यो । म १४ वर्षको हुँदा वहाँको देहान्त भएको थियो । मेरी वहिनी र म हजुरबुबासँग असाध्यै खेल्थ्यौँ । अग्लो तडीको मान्छे अति निरोगी हुनुहुन्थ्यो । सन् १९३२ मा ८५ वर्षको उमेरमा संसारबाट विदा हुनुभयो । के गर्ने हाम्रो जीवनको चक्र नै यस्तो ।’

डेभिडले पनि थपे, ‘मलाई पनि वहाँको हजुरबुबा स्टालिन जस्तै लाग्छ । विचार गरौँ त त्यो बेलाको जनजीवन – इन्टरनेट, मोवाइल फोन, टेलिभिजन आदि केही नभएको । कस्तो थियो होला ?’ बुढाले भने, ‘अहिलेको भन्दा राम्रो थियो मान्छेहरु बढी खुसी थिए ।’
खाना खाइसकेपछि हामी भोजनालयबाट पुनः उनीहरुको घरमा गयौँ । मेरो स्वास्थ्यको बारेमा पनि गफ गरियो । त्यसैबीच डेभिडले के पिउने भनेर सोधे । मैले बुढालाई के छ त तपाईको लक्जेम्वर्जको कहानी भनेर सोधेँ । डेभिडले बिर्सिसक्नुभयो होला भनी जवाफ दिए । ‘कहाँ बिर्सनु मलाई त दुई सय पल्ट भन्दा बढी सुनाई सक्नु भएको छ’, बुढातर्फ हेर्दै मैले भने । बुढाले जोसिएर २०० पल्ट त सुनेका रहेछ्यौ, अब २०१ पल्ट सुन भनेर भन्न थाले । ‘आजभन्दा ३०÷४० वर्ष अगाडि जब म स्टील व्यापारमा थिए, हाम्रो मुख्य वजार चाहिँ युरोपमा नै थियो । त्यसैले म अक्सर लम्जेमबर्ग जानु पथ्र्यो । हाम्रो त्यहाँ सानो अफिस पनि थियो । त्यहाँ भएका आफ्ना ग्राहकहरुलाई बोलाई पार्टी दिनुपथ्र्यो । एकदिन मेरो पार्टीमा मुटुरोग विशेषज्ञ पनि आएका थिए । सबैसँग गफ गर्दै हिँड्ने क्रममा म यी डाक्टरसँग पनि गफ गर्न थाले । उनले एउटा रातो वाइनको गिलास लिँदै गफ गरेका थिए । गफको सिलसिलामा पेय पदार्थकोबारे चर्चा ग-यौँ । अनि यी मुुटुरोग विशेषज्ञले भने कि रातो वाइन र व्हिस्कीले रगत पातलो बनाउँछ । त्यसैले स्वास्थ्यको लागि लाभदायक हुन्छ । मुटुलाई फाइदा पु¥याउँछ । धेरै खाएर होइन खालि सानो गिलास १२५ मिलिलिटर वाइन या २५ मिलिलिटर व्हिस्की । यो सुनेपछि मैले रातो वाइन र व्हिस्की राम्रो भन्ने थाह पाएर हर दिन एक सानो गिलास पिउन सुरु गरेँ र आजसम्म पनि कायम नै छ ।’ यति भने पछि बुढा खिस्स हाँसे र भन्दै गए, ‘मुटुरोग विशेषज्ञको भनाई अनुरुप हरदिन खाएँ, तर मलाई नै हृदयघात भयो, हा हा हा …..। तर हृदयघात भएर मेरो उमेर लम्बियो । ८० वर्षको उमेरमा हृदयघात भयो । त्यो बेला मेरो सबै स्वास्थ्य परीक्षण भयो, नत्र कुनै सानो केही भएर प्राण जान के बेर ।’ बुढाको कुरा सुनेर डेभिड र मैले ठूलो हाँसो निकाल्यौँ ।

बुढाको बचपनबारे आज पनि खुब गफ गरियो । हामीले गरेका हरेक प्रश्नको जवाफ झिन्झार नमानी दिन्थे । दोस्रो विश्वयुद्धको समयमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै गम्भीर चेहरा बनाए ।

एकदिन उनी साइकल चढेर काममा जान लागेको बेलामा आयो……आयो…….आयो भनेर मान्छेहरुले भनेको उनको कानमा ठोक्कियो । हत्तपत्त साइकल मिल्काएर अरु मान्छेले जस्तै गरी त्यही नजिक कुनामा गएर टाउको जोतेर लिपिक्क बसे । करिब १०० हात पर ठूलो बम अति भयंकर आवाज निकालेर पड्क्यो । उनले जीवन सकियो भनेर होस नै गुमाएका थिए, तर बचे । जिब्रो निकाल्दै हिट्लर कस्तो राक्षस मान्छे !! साह्रै दुच्छर विचार अनि निकृष्ट कर्म ।

हाम्रो घरायसी गफ पनि भयो, मेरो हरेक परिवारका सदस्यलाई उनले राम्ररी चिनेका छन् । पहिला म नजिक बस्दा घटीमा महिनाको एकपल्ट मेरो घरमा आउँदथे तर अहिले अलि टाढा छ अनि शारीरिक अवस्थाले पनि गाह्रो परेको छ । बारबार मेरो खानपिनबारेमा सोधे अनि उनी बस्ने नयाँ मेचका बटनहरुबारे पनि धेरै पल्ट दोह¥याए । उनलाई हेरेर मैले सोच्न थालेँ – ‘कत्रो ठूलो हृदय भएका मान्छे । कस्तो सभ्यता जानेका । कति मर्मस्पर्शी व्यक्तित्व ।’ म जस्तोलाई पनि उनले सबै कुरा खोल्न योग्य ठानेको देखेर म विभोर छु । तर कहिलेकाहीँ उनले सोचेको अनुरुप म आफू छैन कि भनेर ध्यान पनि दिन्छु । हाम्रो सम्बन्ध गहिरो छ, अटल रहन्छ र मर्यादित छ । उनी व्यक्तिगत स्वार्थबाट धेरै माथि छन् । उनलाई मसँग केही आशा छैन र केही पाउनलाई हाम्रो सम्बन्ध भएको होइन । समयले अनन्तमा बिलिन सबैलाई पार्नेछ, त्यसपछि पनि हाम्रो घनिष्ट साथित्व रहनेछ । मैले पक्कै कुनै पुण्य गरेको हुनुपर्दछ अघिल्लो जन्ममा । यस्ता मानिससँग सम्बन्ध गाँस्न सायद देवताहरु पनि हानाथाप गर्दछन् होला । मेरो हरएक दुःखमा यिनले बुटी लगाएका छन् । समयको रापमा शितलता प्रदान गरेका छन् । म विचलित भएको बेलामा साहार दिएका छन् । उनको प्रेमले जीवन र मानवताको महत्व दर्शाइरहेका छन् । कस्तो मेरो भाग्य ! कुन साइतमा मैले उनलाई भेटेँ र उनले मलाई आफ्नो भन्ने ठानेर स्वीकारे । म आफूलाई गर्व गर्दछु, उनी जस्तो हुनलाई मैले धेरै सिक्नुछ, चिन्तन फराकिलो पार्नुछ अनि जीवनको माने धेरै बुझ्नु छ । कसले भन्छ मानव जीवन बोझ, दुःख र दर्दको कहानी हो भनेर ! उनलाई हेरेर मानवको पूर्ण जीवन कस्तो हुन्छ भनेर स्पष्ट हुन्छ ।

अनेक कुराहरु गर्दागर्दै दिन जान लाग्यो । रोक्न सक्ने तागत भए त रोक्ने थिएँ तर अब बिदाइ हुने बेला भयो । म घर फर्कनलाई विदावादी हुँदा बुढाले मेरो हात समाते । आज धेरै रमाइलो भयो । राम्रोसँग जानु भने । म गाडीतर्फ गएँ, रोन र डेभिड आफ्नो तगारोमा बसेर हात हल्लाइरहे । म पनि आवाज दिएर त्यस दृष्यबाट टाढा भएँ । मन गह्रुँगो भयो, बुढाको अनुहार आइरह्यो । पूर्वस्मृति ओहोर दोहोर भयो । घरमा आएपछि पुनः फोन आयो ।

‘हेलो ! म रोन बोलेको, कुन बेला पुग्यौ त ? बाटो व्यस्त थियो ?’ बुढाले सोधे । ‘धन्यवाद, करिब १ घण्टा २० मिनेट लाग्यो, बाटो ठिकै थियो’ मैले भनेँ ।

‘तिमीलाई देखेर म खुब खुसी भएँ, आशा गर्दछु, तिमी चाँडै नै फेरि आउनेछौं’ बुढाले मायाले ओतप्रोत हुँदै भने ।

‘मलाई पनि आनन्द भयो तपाई त झन झन जवान हुनुभएको रहेछ, अब चाँडै नै फेरि भेट्न आउँछु’ मैले बुढालाई आश्वस्त पारेँ ।

‘घडी उल्टो घुमेको छ नि मेरो, ल त है पछि गफ गरौँला’ बुढाले भन्नासाथ धन्यवाद ! पछि भेटौला भन्दै हाम्रो फोन कुराकानी टुङ्गियो ।

धेरै समयपछि म आफ्नो स्वतन्त्रताका साथ यात्रा गर्न सकेकोमा अरु फूर्ति आएको छ । डेभिड र रोनलाई देखेपछि मलाई त्यसै आनन्द आइरहेछ । अब आजको दिनले पनि माया मार्न लाग्यो, के गर्ने समय नै छ बलवान !

(स्रोत : सत्यतथ्य मासिक)

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.