~गीता खरेल~
बुद्ध अनि सगरमाथा शान्ति विम्व बनी
चिनिएको देश मेरो प्रकृतिकी धनी
हिमाल पहाड तराईको चुल्ठी कोरी बाटी
सजिएकी सौन्दर्यले नेपाल आमा खाँटी ।
एउटै सिङ्गो पहिचान एउटै जात धर्म
नेपाली हो साझा नाम, नेपालीत्व मर्म
किन खोज्नु अलग नाम ? झोसी घरमा आगो
कमजोर बन्छ आफ्नोपन, एकताको धागो ।
ईंटा थप्ने हातहरु पर्खाल तोड्न लागे
नव निर्माणको काम छोडी अन्तै लागे
बन्छ कसो गरी देश खिचलोमा रमे ?
पस्ला कि त मनमा कतै एकैछिन गमे ।
एउटा नेता जन्मिएन देश हाँक्न सक्ने
लूटवादी फुटवादी पाखा फ्याक्न सक्ने
अस्थिरता र अशान्तिलाई अव रोक्न सक्ने
इतिहासको जिम्मेवारी काँधमा बोक्न सक्ने ।
ईतिहास हेर आफ्नै, हेर वारि पारि
विभेदकै कुरा गर्दा, कहाँ पर्छन् नारी ?
न्याय अनि समताको एउटै खाका कोरी
बढोस् अघि मेरो देश, एकतालाई जोडी ।
(स्रोत : सत्यतथ्य मासिक)