~निरोज मास्के~
आज,
फेरि एउटा ठाउँ हरायो !
ए बटुवा,
ए मनुवा,
तिमिले देख्यौ कि कतै,
मेरो आफ्नै गाउँ हरायो !
यो गोरेटो पारी थियो,
त्यो घोरेटो वारी थियो !
नजिकै एउटा,
चौतारी थियो !
चौतारीमा बसी बाघचाल खेल्ने,
दौँतारी थियो !
सुसेली हाल्दै हावालाई बोलाउने,
औतारी थियो !
एउटा,
स्वामीको रुख थियो,
पिपल अनि बर थियो !
नजिकै मेरो घर थियो !
आमा थिइन्,
बाबा थिए,
दिदि भाइ अनि आफन्त थिए !
छेवैमा एउटा पँधेरा थियो,
पोखरी थियो,
अनि एउटा कुवा थियो !
तल्लोघरे सान्कान्छा दाइ,
अनि माथ्लाघरे ठुलो बुवा थिए !
जात्रा थियो,
चाड अनि उत्सब थियो !
सधैँ उत्सबमा पकाउने र ख्वाउने,
पुछार घरकी,
साइली बजै भान्से थिइन्,
अरुपनी थुप्रै आफ्ना मान्छे थिए !
आज मेरो एउटा ठाउँ हरायो !
ए ! भरिया दाइ,
ए ! सहरिया भाइ,
तिमिले देख्यौ कि कतै,
आफ्नै मेरो गाउँ हरायो !
त्यही देउराली नजिकै थियो,
त्यही भञ्ज्याङको छेवैमा थियो !
उकाली नेर थियो,
ओराली नसकिदै थियो !
डाँडाबाटै देखिन्थ्यो,
टाढाबाटै देखिन्थ्यो !
थुप्रै आफ्नो घर थियो,
गाउँ सबैको एउटै भर थियो !
घरसँगै एउटा गोठ थियो !
गाई थियो,
बस्तु थियो,
केही कुखुरा र खोर थियो,
रातभर स्यालको स्वोर थियो !
स्याल चोर थियो !
तेसलाई लखेट्ने,
टाटे थियो,
पाङग्रे थियो !
दिनरात गाउँ कुर्ने,
काले र खैरे थियो !
गोठालो सँगी वीरे थियो,
देउसिरे खेल्ने हर्के,
अनि रोदी नाच्ने,
भैरे थियो !
छेवैमा सानो डाँडा थियो,
नजिकै रानीवन थियो !
केही बारी थियो !
तल हाम्रो खेत थियो,
सँगै एउटा धन्सार थियो,
त्यो गाउँको अलग्गै संसार थियो !
निन्द्रा थियो,
सपना थियो,
सबै आफ्नै अन्सार थियो !
पाटी थियो, पौवा थियो,
पछाडि एउटा टौवा थियो !
डाँडामा एउटा मन्दिर थियो,
देवल थियो
त्यही हाम्रो भाकल थियो !
भाकलसँगै चढाएको भेटी थियो,
टुँडाल थियो,
झुण्ड्यायको घण्टा थियो !
माटोले पोतेको भित्ता थियो !
भित्तामा मेरो नाम थियो !
आज त्यो मन्दिर हरायो,
हामी सबैको शिर हरायो !
ए ! दैव !!
मेरो गाउँ हरायो,
गाउँ सँगै,
मेरो नाउँ हरायो !
अनि बान शान हरायो,
सँग सँगै मेरो पहिचान हरायो !
(स्रोत : सत्यतथ्य मासिकको वर्ष २, अंक ४ जनवरी २०१४)