~शिरिष लामिछाने~
मस्त निद्रामा सुतिरहेको
अबोध बालक थिएँ म
अँध्यारोमा नै रमाउने
बाहिरको उज्यालोबाट बन्चित
एक निरक्षर थिएँ म
तर तिमी त्यहाँ थियौ
मेरो लागि सधैं
टाढाको क्षितिज हेर्दै
प्रकाश देखाउदै अझै
भन्थ्यौ,”आँखा खोल् छोरा
चीर निन्द्रामा सुत्लास् कुनै दिन
अहिले उठ्नु छ, धेरै काम गर्नु छ।”
झ्यालबाट छिरेको
घामको रापसँगै
म उठ्ने गर्थेँ
र तिम्रो धापसँगै
लक्ष्य प्राप्र्तिको निम्ती
अगाडि बढ्ने गर्थेँ
मेरो किन्चित खुशीमा
तिम्रो मुहारको चमक
अझै सम्झिन्छु म
मेरो रुवाइमा
तिम्रो बात्सल्यको स्पर्श
अझै महसुस गर्छु म
मेरो कमजोरीमा,लाचारीपनमा
नैराश्यमा,अनि हारमा
तिम्रै रक्तसन्चारक प्रवचन
अझै प्रष्ट सुन्छु म।
लेखुँ भने कती लेखुँ
शब्द सकिएलान्, शब्दकोशका
दिन सक्दिन अरु केही
कुशे औँशीको यो दिनमा
बाबा,
बन्द आँखा गरी तिमीलाई
हेर्दै छु, मन-मस्तिष्कमा।
हेर्दै छु, मन-मस्तिष्कमा।।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)