~सागर अधिकारी “आकाश”~
तिमी हाँस्दा चन्द्रमा हाँसे जस्तो लाग्छ
तिमी बोल्दा कोईलीको कुहु कुहु लाग्छ
तिमीले बोलाँउदा म बिरानो हैन जस्तो लाग्छ
तिमीले गाली गर्दा पनि माया गरे जस्तो लाग्छ
तिमी साथ हुँदा मरुभूमि पनि वसन्तमय लाग्छ
तिम्रो रुप हेर्दा फक्रेको गुलाब जस्तो लाग्छ
तिम्रो न्यानो प्रेम पाउँदा संसार आफ्नै लाग्छ
तिम्रो तस्वीर कोर्दा कोर्दै मोनालिसाजस्तै लाग्छ
फेवातालमा माछापुच्छ्रे हासेँको हेरौँ हेरौँ लाग्छ
तिमीसँगै गाईबस्तु चराउन जाउँ जाउँ लाग्छ
कोशौँ लामो यात्रा तिमीसँग निमेष झैँ लाग्छ
जुन बिनाको औँशी रात पनि पूर्णे जस्तै लाग्छ
साथ दिन्छु तिमीले भन्दा साह्रै खुशी लाग्छ
तिमीसँग जिस्किँदाको पल आफैमा हराएझैँ लाग्छ
चियाएर मलाई हेर्दा, फर्की हेरौँ जस्तो लाग्छ
तिम्रो ईशारा पाउँदा पनि अबुझ बन्न मन लाग्छ
हर रात सपनीमा तिमी आए जस्तो लाग्छ,
तिमी हिडँने गोरेटो बाटो कुरी बसौँ जस्तो लाग्छ
बाडुल्की लाग्दा तिमीले याद गरेझैँ लाग्छ,
समुद्री हावाले हान्दा तिम्रो स्पर्श पाएझैँ लाग्छ
हाम्रो पनि प्रेम कथा शिव पार्वतीकै जस्तो लाग्छ,
तिमी अप्सरा भई नाच्दा म इन्द्र भएजस्तै लाग्छ
तिमीसँग डुल्दाखेरी सूर्यास्त नभए हुन्थ्यो जस्तो लाग्छ
लुकी छिपी गरेको प्रेम अरुले थाहा पाएकी जस्तो लाग्छ.
दुःख सुःखमा साथ दिने बाचा कसम खाएझैँ लाग्छ,
कथा हाम्रो साँचो प्रेमको, अजम्मरी भएझैँ लाग्छ
आँखामा सजाउँ अनि मुटु भित्र लुकाऊँ जस्तै लाग्छ,
हृदयकी स्पन्दन तिमी, आँखाको ज्योति हौ जस्तै लाग्छ
तिम्रो मुहार दुःखी देख्दा मेरो आँखा रसाएझैँ लाग्छ,
तिम्रो ओँठको मुस्कान देख्दा, मन प्रफुल्लित भएझैँ लाग्छ
प्रेमगाँठको पाँच सालपछि हाम्रो विवाह भएझैँ लाग्छ,
गाऊँ वस्ती, सहर बजार त्यसबखत रङ्गिएझैँ लाग्छ
बुढेशकालको साहारा तिमी, म तिम्रो भएझैँ लाग्छ,
आँगनीमा बालबच्चा खेल्दा बालापन याद आएझैँ लाग्छ
देख्न, हिड्न राम्रो नसक्ने बुढेशकाल लागेझैँ लाग्छ,
डाँडा पारीको घाम हामी, कालले छिट्टै लान्छझैँ लाग्छ
(स्रोत : सत्यतथ्य मासिक)