निबन्ध : मृत्युसँग एकै क्षण

~श्रेष्ठ सत्य ~Shrestha Satya

मानिसको जीवनमा सबै कुराहरु अनिश्चित छन् तर निश्चित छ त केबल एउटै तत्व – त्यो हो मृत्यु । मानिसको जीवनसँगै मृत्यु पनि गाँसिएको हुन्छ । जीवनको प्रारम्भिक छेउ जीवन हो भने अन्तिम छेउ त मृत्यु नै हो । जीवनको अन्त्य मृत्युमा नै हुने गर्दछ । सबैको जीवनमा मृत्यु अत्यन्तै साश्वत र अवश्यंभावी छ । मृत्युलाई कसैले पनि टार्नै सक्दैन ।

मानव समाजले भने जन्मलाई त सहजै स्वीकार्ने गर्दछ भने मृत्युको नाम लिन पनि तर्सिन्छ । मानिस जन्मिदा भने हर्षोल्लास र महोत्सव मनाउँदछ र त्यसै दिनको सम्झनामा प्रत्येक वर्ष धुमधामले जन्म दिन पनि मनाउँछ भने मान्छे मर्दा भने शोकमा डुब्ने गर्दछ । जन्मलाई जस्तै मृत्युलाई पनि सहज र सहर्ष ढंगले स्वीकार्न मानिसले कदापि सक्दैन । जतिसुकै उमेर ढल्किएको वृद्ध–वृद्धा भए पनि ऊ मृत्युबाट जसरी पनि बच्नै चाहान्छ र मृत्युको नाम पनि लिन चाहँदैन । प्रायजसो मानिसहरु जीवनभरि मृत्यु भन्ने शब्दै सुन्न चाहँदैनन् । कसैले मुत्युको कुरा मात्रै गरे पनि त्यसलाई हामी अलक्षण या अपशकुनको संज्ञा दिने गर्दछौं र त्यस्तो मानिसबाट सकभर धेरै टाढा नै बस्न चाहान्छौं । कोही मानिस मरेको ठाउँमा गए पनि हामी मृत्यु भन्दा पनि अर्कै प्रसंग चलाएर मृत्युलाई भुल्न र भुलाउन खोज्छौं । मलामी नै गएको मानिसहरुबीच पनि मृत्युको भन्दा पनि चर्चा हुन्छ त अर्कै कुराको – कसको कोसँग चक्कर चलेको छ ? कसले कति तल्लाको कति वटा घर बनायो ? कस कसले भ्रष्टाचार, दलाली र मूर्ती चोरेर के के गरे ? आदि आदि अर्थहीन प्रसंगहरु । यस्तो कुरा गरेर हामीहरु भुल्न चाहान्छौं कि आफ्नो पनि नियति यही हो भन्ने कुरालाई ।

मानिस जीवनभर नै हर तरहले मृत्युलाई टार्ने र यसबाट पन्छिने प्रयास गरिरहन्छ तर के यो सम्भव छ त ? मानिसले जति नै मृत्युलाई अस्वीकार र तिरस्कार गरे पनि वास्तवमा उसका शरिरका प्रत्येक कोष कोषमा मृत्यु गुन्जिरहेको हुन्छ । त्यसैले त यही मृत्यु उसको हरेक क्रियाकलाप र गतिविधिमा झल्किने गर्दछ । मानिसले जति पनि मृत्युबाट भाग्ने कोसिस गरे पनि उसले वास्तवमा त मृत्युलाई भित्र भित्रै स्वीकारिरहेको आभास हुन्छ । त्यसैले त मानिस प्रेममा पर्छ – यसको मतलब त यही हो की म त मरिहाल्छु तर मेरो कोही या मेरो प्रेम भने बाँचिरहनेछ भनेर नै हो । मानिसले सन्तान उत्पादन गर्नुको कारण पनि त यही नै हो कि म त मरि नै हाल्छु तर मेरो कोही यहाँ रहिरहोस् । त्यसै गरी मानिस टन्नै धन सम्पति, र पैसा जम्मा गर्नुको गुह्य कारण पनि यही हो की म त मरिहाल्छु तर आफ्नो केही रहिरहोस । त्यसैगरी मानिसहरु नाम कीर्ति राख्न खोज्नुको पछाडि पनि मानिसको यही मृत्यु देखिको भयले नै काम गरिरहेको हुन्छ । यसर्थ कि म त मरिहाल्छु तर मेरो नाम भने बाँचिरहोस् । मानिसको हरेक क्रियाकलापले उसको मृत्युदेखिको भयलाई नै झल्काइरहेको हुन्छ तथापि हर दिन हर रात ऊ आँखा चिम्लेरै मृत्युलाई देखेर पनि नदेखे झैँ गरिरहन्छ । यो जति आश्चर्यजनक कुरा अरु के होला र ?

वास्तवमा मृत्यु अकाट्य सत्य हो । मृत्यु प्रत्येक प्राणीको जन्मसँगै टाँस्सिएर आएको हुन्छ । जसरी दिनसँगै गाँसिएर रात र गृष्म यामकै अर्को छेउमा शिशिर याम पनि आउँदछ । जन्म र मृत्यु पनि यसै गरी अटुट रुपले गाँसिएका जीवनका दुई छेउहरु हुन् । तर मानिसले यसरी स्वीकारेको विरलै पाइन्छ । मानिसले कुनै हालतमा पनि मृत्युलाई स्वीकार्नै चाहाँदैन तर यसो गर्दैमा मृत्यु कदापि टर्दैन । मृत्यु त जुनसुकै बेला पनि उसको जीवनको ढोका ढकढक्याउन आइपुग्नेछ । मानिसको जीवनमा मृत्यु जुनसुकै बेला पनि घट्न सक्दछ । भर्खरै जन्मिएको शिशु होस् या बालक, किशोर, युवा होस् या वृद्ध सबैमा मृत्युको सम्भावना उत्तिकै रहेको हुन्छ । मृत्युले न त कुनै उमेर भन्छ, न त कुनै जाति, देश, धर्म, वर्ग, वर्ण र पदको मान्छे भनेर नै छुट दिन्छ । यसले त सबैप्रति समान व्यवहार गर्दछ कसैलाई पनि यसले छाड्दै छाड्दैन ।

मानिसहरुको दैनिक जीवनचर्या हेर्दा त यस्तो लाग्ने गर्दछ कि मानिस कहिल्यै मर्दै मर्दैन र ऊ युगौंयुग यही पृथ्वीमै जरा गाडेरै बसिरहनेछ जस्तो । मानिसले मृत्युप्रति बेवास्ता र अचेत भएकै कारण ऊ आज पशुवत जीवन जिइरहेको छ । यदि मानिस मृत्युप्रति सजग भइदिएको भए मानिसको जीवनशैली अर्कै हुने थियो । अर्थात् मानिसले मेरो जीवनमा पनि मृत्यु घट्ने नै छ एक न एक दिन भन्ने कुरालाई स्वीकारी दिएको भए ऊ छुट्टै प्रकारले जीवन जिउन सक्थ्यो । के मृत्युलाई स्वीकारेको मान्छेले कुनै नराम्रो काम गर्न सक्ला त ? म पनि एक दिन मरि नै हाल्छु भनेर जान्ने मान्छेबाट कुनै भ्रष्ट र अनैतिक काम सम्भव होला र ? जसलाई आफ्नो जीवनको अन्त्य पनि हुन्छ भन्ने ज्ञान हुन्छ, के उसले पुस्तौँ पुस्ताको लागि धन र पैंसा जम्मा गरिरहला त ? मृत्युलाई स्वीकार्ने व्यक्तिबाट लोभ, मोह, अहंकार, स्वार्थ, अन्याय, अत्याचार अनि शोषण आदि कुभावनाहरुको सम्भावना होला त ? जसले म पनि मर्नैपर्छ भन्ने कुरा वास्तवमै महसूस गरेको हुन्छ के उसले आफ्नो स– साना स्वार्थका लागि अरुको अस्तित्व नै नामेट पार्न सक्ला र ?

आज मानिसहरु धर्म, समाजसेवा, राजनीति आदिको नाममा पनि आफ्नै अहंकारको बेलुन फुलाउने काम मात्र गर्दछन् । मानवलाई त उनीहरु घृणा गर्दछन् तर मानवताप्रति प्रेम छ भन्दै केवल आफ्नै अहंकारको भावनालाई उकास्नका लागि हरतरहले उद्यत रहिरहेका हुन्छन् । उनीहरुले गरेको समाजसेवाको खवर या फोटोहरु पत्रपत्रिका, रेडियो या टिभीमा आएन भने रिसले आगो हुन्छन् । मानिस समाजसेवा भन्दा पनि आफ्नो नाम र कामको प्रचार प्रसारमा नै बढी ऊर्जा लगाइरहेको हुन्छ । तिनीहरुलाई यस कुराको अलिकति पनि चेत हुँदैन कि मृत्युको अगाडि उनीहरुको नाम, शान, पद, प्रतिष्ठा सबै कति निरीह र व्यर्थ हुन्छ भनेर ।

प्रायजसो मानिसहरु यस्तै अचेत अवस्थामै आफ्नो जीवन गुजारा गरिरहेका हुन्छन् । त्यसैले त ऊ केही न केही रुपमा अमर रहिरहन चाहन्छ । ऊ आफू मरे पनि आफ्नो नाम, सन्तान या सम्पति बाँचिरहोस् भन्ने चाहन्छ । तर सत्य त यही हो कि यो ब्रम्हाण्डमा हरेक पदार्थहरु नाशवान् छन् । यो मानिस जाबो त के हो र ? एक दिन यो पृथ्वी, चन्द्र, सूर्य, तारागण सबै नै अन्धकारमा विलय हुनेछन् भने विचरा मानिसको नाम त कति दिन नै बाँचिरहला र ? उसको प्रचारप्रसार, अहंकार, प्रतिष्ठा सबै पानीका फोकाहरु जस्ता मात्र हुन् ।

मानिसहरुको खोक्रो अभिमान, स्वार्थ, लोभ, मोह र अहंकारकै कारण आज यो पृथ्वी दिनानुदिन राक्षसी बस्तीमा बदलिरहेको छ । दिन दिनै यहाँ हत्या, हिंशा र अराजकता रोकथाम नै गर्न नसकिने गरी बढिरहेको छ । “ मै खाउँ, मै लाउँ, मै कमाउँ ” जस्ता भावनाले मानव मन मस्तिष्क नराम्ररी संक्रमित भइरहेको छ । यसको नियन्त्रण गर्न कुनै पनि वैज्ञानिक उपकरण तथा आधुनिक सिद्धान्तहरुबाट पनि सम्भव छैन । यसका लागि त प्रत्येक व्यक्तिले आफ्नो जीवनको साश्वत सत्य र अन्तिम गन्तव्यलाई आत्मबोध गर्नु नै हो र त्यो हो – “मृत्यु” । प्रत्येक मनुष्यले मृत्युलाई जीवनभर नै मध्यनजर गर्दै आफ्नो दैनिक गतिविधि गरेमा यहाँ कोही अरबपति र खरबपति अनि कोही भने भोक भोकै मर्नुपर्ने अवस्था कुनै पनि हालतमा आउँदैन ।
यसर्थ, मृत्यु प्रतिको सचेतना नै सबै समस्याको समाधान हो । प्रत्येक व्यक्तिले मृत्युलाई हृदयदेखि नै स्वीकार्दै, जीवनको कुनै पनि पल आफ्नो पनि मृत्यु घट्न सक्छ भन्ने सत्यलाई जानेमा ऊ आफ्सेआफ् वास्तविक रुपमा सही र असल मान्छे बन्नेछ । (दोलखा, नेपाल, हाल बेलायत)

(स्रोत : सत्यतथ्य मासिक)

This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.