~विरही काईला~
मेरो सालनाल कहाँ गाडियो
यकिन साथ भन्न सकि रहेकी छैनन् मेरी आमा
बोजुलाई थाहा हुनु पर्नेमा
उनी मास छर्न गइसकिन अब फर्किन्न
जाँतो कुनामा सुत्केरी आमा
मसित सुतेकी थिइन
धारिलो चोयाले सालनाल काटेर
बोजुले लिएर गइन
एति नै थाहा छ आमालाई
फर्किन्दा हातमा यौटा कुट्टे अवश्य थियो
स्यालले जमिन खोतलेर
खायो कि शंका गर्छिन आमा
हुन सक्छ स्यालले
मेरो एकरुप खाइ सकेछ
सालनाल खान पल्केको स्याल
मेरो गन्ध सुँघेर
समसाँझ हुनै नपाइ माथि डाँडाबाट
हाम्रो घरतिर मुख फर्काएर कराइ बस्छ
————————————————-
— मिरिक (दार्जीलिंग)
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )