~कमल प्रकाश पौडेल ~
फूल भई फुलिराथें, कति तीखो काँडा देख्यौ
मन, मुटुभित्रै हुँदा, पनि कति टाढा देख्यौ ??
यै चालाले कठीन छ, पिरतीको गाऊँ पुग्न
सोझै सिधा बाटालाई, उकाला र ठाडा देख्यौ ??
सँगै हिड्छु हात गाँसी, भनेकै छु अझैपनि
छुनै हुन्न भनेजस्तो, कति साह्रै छाडा देख्यौ ??
मनसित धन साट्ने, धेरै रैछन् संसारमा
आउ भेटौं भन्छु तर, पाँच् रूपैँया भाडा देख्यौ ??
हिसाव किताब गरिराख, तिरिदिउँला बरु सबै
हो कि त्यो कठोर् मनले,अन्तै माया गाढा देख्यो ??
–रचनाकालः–२०६३÷०३÷२०
(स्रोत : रचनाकारको ब्लगबाट सभार)