~आभास~
जब म
एकान्तमा बसेर
मुरली बजाउन थाल्छु
हिरोशिमाका परेवा
मेरो सामु आउँछन्
वमले छिया छिया भएका
शरीरका मासु देखाउँछन्
आँसुले भिजेका
पँखेटा फट्कार्छन्
आँसुले सेचन गरिदिन्छन्
मेरो शरीर
जब म
एकान्तमा बसेर
मुरली बजाउन थाल्छु
नागासाकीका युवतीहरु
नवजात शिशुका लाश लिएर
मेरो सामु आउँछन्
निभिसकेका आश लिएर
मेरो सामु आउँछन्
चिच्याउँछन्
तिनको चिच्याहट
मेरो मुरलीको स्वरसित प्रतिध्वनित हुन्छ
बन्छ मुटु छुने गीत
म शान्त; एकान्तमा बसेर
फेरि थाल्छु मुरली बजाउन ।
***********