~अमर न्यौपाने~
उसलाई थाहा छैन आफू पा“च वर्ष भएको बाबुले बिर्से पनि आमालाई एक दिन अझ भनौ एक घन्टा पनि फरक नपर्ने गरी थाहा छ ।
उसको सानो भाइ छ महिनाको भयो । भाइ छ महिना भएको पनि थाहा छैन । उसलाई आफ्नो भाइ सानो छ भन्ने थाहा छ । भाइले नै उसको आमाको काख खोसिदिएको, राति आमाको न्यानो कोखिलो पनि खोसिएको थाहा छ । यति भएर पनि भाइप्रति उसको कुनै ईष्र्या छैन । बरु माया मात्र छ । मायैमाया ।
संसारमा सबैभन्दा बढी माया कसको लाग्छ भनेर कसैले उसलाई सोधे पनि नसोधे पनि एक्लो आफै“स“ग निर्धक्क निसङ्कोच भाइको भन्छे । सायद आमाभन्दा पनि प्रिय लाग्छ उसलाई भाइ । सायद ऊ छोरा भएको भए भाइको यति माया लाग्थ्यो या लाग्थेन ? छोरी भएर अझ बढी लागेको हो भन्ने पनि उसलाई थाहा छैन ।
जेहोस्, त्यो पा“च वर्षे कलिली बालिकालाई संसारमा सबैभन्दा प्यारो कोही छ भने त्यो भाइ नै हो । त्यसपछि आमा, फूलबारी अनि अरु ……….।
उसलाई फूलबारी असाध्यै मनपर्छ । घरअगाडि सानो भएपनि फूलबारी छ । त्यहा“ रङ्गीचङ्गी फूलहरु छन् । उसलाई आफ्नो सानो फूलबारी भाइ बराबर त होइन तर असाध्यै प्रिय लाग्छ । कसैले फूलबारीको फूल टिपेको उसलाई मन पर्दैन । आफूले सकेसम्म ऊ प्रतिकार गर्छे., गाली गरेर आमाबाबुलाई भनेर या रोएर ।
सकिनसकी फूलहरुलाई दिनदिनै पानी हाल्छे । वरिपरि उम्रिएका झारहरु उखेल्छे । त्यसो गर्दा फूलहरुको माया झन बढेर आउँछ ।
जसरी ऊ भाइको ध्यान दिन्छे त्यसैगरी फूलहरुको उसलाई राता गिजा र त्यसका माझमा आएका दुईवटा दुधे दाँत देखाएर भाइ हाँसेको, खेलेको, कोल्टे फेरेको, चार खुट्टाले हिँड्न खोजेको असाध्यै मनपर्छ । नबुझिने भाषामा के के बोलेको पनि उसलाई सबै बुझे जस्तो लाग्छ ।
भाइले दिसा पिसाब गर्दा त्यसलाई सफा गर्न भने चाहेर यति सक्तिन । तर उसलाई पटक्कै घिन लाग्दैन । आफ्नै दिसा पिसाब बरु घिन लाग्छ तर भाइको लाग्दैन ।
बेलुका सुत्ने बेलामा र बिहान उठ्ने बित्तिकै पनि उसलाई सबैभन्दा पहिला भाइ हेर्नुपर्छ अनि फूलबारी । राति त ऊ प्रायः ब्युँझन्न तर कहिले काहीँ व्युँझी भनेपनि आफ्नी आमास“ग भाइका बारेमा सोध्छे । कसैले जिस्काएर यसै ‘तिम्रो भाइ लैजान्छु’ भन्दा ऊ कडा रुपमा प्रतिकार गर्छे । अनि सबै उसको प्रतिकारबाट मनोरञ्जित भएर हा“स्छन् । त्यसपछि उसको प्रतिकार शान्त हुन्छ । आ“खाको आ“सु रोकिन्छ ।
भाइलाई कोक्रामा राखेर हल्लाउन अनि बेलाबेलामा सकिनसकी कोक्राबाट झिकेर खेलाउन उसलाई असाध्यै मन पर्छ ।
उसकी आमा अत्यन्तै आध्यात्मिक छिन् । बिहान उठेर सधै नुहाएर जपध्यान गर्छिन् । पूजापाठ गर्छिन् । विगत सात वर्षदेखि सोमबारको व्रत बसेकी छन् । एकादशी, तीज, कृष्णाष्टमी अनि सबै व्रत बस्नुपर्छ उनलाई ।
बिहान उठ्ने बित्तिकै मुख धोएपछि एकछिन भाइ हेरेर उसको काम फूल टिपेर आमालाई पूजा कोठामा पु¥याइदिनु हो ।
एक दिन बिहानै उठेर कुन्नि किन हो उसले भाइ हेरिन । यसो पनि हुनसक्छ, त्यो दिन ऊ अबेरसम्म सुतिरही । आमाले हतारहतार उठाइन् र फूल टिपेर ल्याउन भनिन् । मुख धोएर मात्र फूल टिप्नु नि फेरि– भनेर सम्झाइन् । त्यसैले हतारमा सायद उसले भाइ हेर्न नै बिर्सी ।
हातमुख धोएर ऊ पूजाकोठामा गई र ढकिया लिएर फूलबारीतिर गई । हतारमा उसले चप्पलसम्म लगाउन सम्झिन । त्यसदिन ऊ खाली खुट्टा फूलबारीमा गएकी थिई । फूलका पत्रपत्रमा, पातहरुमा शीतका थोपा बिहानको कलिलो घाममा कस्तो सुन्दर लाग्यो उसलाई । खाली खुट्टाले फूलका बोटहरु उभिएको भुइँ छुँदा उसलाई अरु दिन भन्दा अझ बढी आनन्द आयो । हरियो दुबोको स्पर्शले उसलाई शक्ति दिएजस्तै लाग्यो । त्यही शक्ति र आनन्दले उसलाई खालीखुट्टा छु भन्ने नै बिर्साइदिएको थियो ।
जब उसले फूल टिप्न फूलको फेदमा कलिला बूढी र चोर औंलाले समाई, उसको हात टक्क रोकियो । त्यो उसको दाहिने हात थियो । टक्क रोकिएर फूलको थुँगालाई हेरिरही । सायद त्यो फूलको थुगा फूलबारी भरिकै सबैभन्दा सुन्दर र ठूलो थियो । फूलका पत्रपत्रमा टल्किएका मोतीका दानाजस्ता शीतका थोपा उसलाई कताकता भाइका सुकिला आँखा जस्ता लागे । फूल टिप्नको लागि जतिजति ऊ आफ्ना कलिला औँलाहरु अठ्याउ“छे उति उति उसले फूलका थुँगामा भाइको अनुहार देख्न थाली । अलिकति बल गरेर फूल टिप्न लाग्दा अचानक भाइ रोएको सुनी । फूल नै नटिपी ढकिया त्यत्तिकै फूलबारीमै छोडेर ऊ दौडदै घरभित्र छिरी र भाइ सुतेको ओछ्र्यानमा पुगेर हेरी । भाइ त मस्तसँग सुतिरहेको थियो । तर कसरी भर्खर भाइ रोएको आवाज सुनी उसले ? दङ्ग परी ।
उसकी आमा कराइन् “खै ‘फूल ल्याइस् त ?‘ ‘भाइ रोएको सुनेर आएकी ।’
उसले निर्दोषपूर्वक आमाको अगाडि उभिएर भाइतिर बरोबर हेर्दै गरी ।
‘चाँडै फूल टिपेर ल्याइज । यहा“ पूजा सुरु गर्ने बेला भइसक्यो । भाइ उठ्ने बेला भा’ छैन अहिले ।’
ऊ फेरि फूलबारीतिर दौडदै उसैगरी खाली खुट्टा गई ।
त्यत्तिकै भुइँमा फ्या“किएको ढकिया उठाई । पहिलेको जसरी नै फूल टिप्न लाग्दा फेरि उसले भाइ रोएको सुनी । एकछिन रोकिएर सुनिरही । भाइ च्याहा“च्चहा“ गरेर रोएको आवाज उसको कानमा गन्जिरह्यो ।
फेरि पनि उसले फूल टिप्न सकिन । त्यत्तिकै ढकिया त्यही“ फ्या“केर दौडदै भाइ सुतेको ठाउ“मा आएर हेरी । भाइ उसरी नै सुतिरहेको थियो । बिस्तारै उसले भाइको अनुहार जीउ छोई ।
पूजा कोठाबाट गालीको लवजमा आमाले बोलाएको सुनेर ऊ हतारिदै विना फूल आमाको अगाडि पूजाकोठामा उपस्थित भई ।
‘खोई त फूल ?’ हप्काएको शैलीमा आमा कराइन् ।
उसले हड्बडाएर भनी ‘फूल टिप्न लाग्दा भाइ रोएको मात्र सुन्छु । आमा ! मैले फूल टिप्न सकिनँ !!’
(स्रोत : Samajkoawaj)