~तीर्थराज अधिकारी~
फुल्दै थियो कोमल लोकतन्त्र
निल्दै उठ्यो गोमन झोँकतन्त्र
उमान्दको बन्दुकको रजाइँ
खप्दै बिते दर्जन वर्ष रोई ।
बाढी, हुरी, भोक असङ्ख्य रोग
छन् प्यास, अत्यास यतै वियोग
बनेर चिल्ला सर –कार चढ्छन्
पसेर भ्रप्रा किन दर्द बुझ्छन् ?
छ जात भाषातिरको विवाद
छ वर्ण, पाटातिरको विवाद
छ धर्मको भेद र लिङ्ग भेद
नेपाल जल्दा कसमा छ खेद ?
लिएर सत्ता ‘डन’ गर्छ राज
छ कल्पनामै विधि राजकाज
गल्दै गयो मानव छैन बोल
अरण्यमा गर्जनको छ मोल !
भूकम्पको जर्जर कम्प छाई
ताक्यो यतै कोमल प्राणलाई
आफन्त छैनन् न त बास नै छन्
बाँचे जहाँ जो मुटु कक्रिदै छन् ।
युवा हराए घरद्वारबाट
बाली बिलाए सब फाँट –फाँट
पापी यतै दृष्टि दिँदै छ बाज
छ बन्द नाका अभिशाप आज !
बल्दै छ आगो अझ दन्दनाई
नेता बडा तालिमको कमाइ !
हेरेर बस्ने कति यो खरानी ?
निभाउने होस कहाँ छ पानी ?
जरा उखेलेपछि के छ बाँकी ?
बोक्ला कहाँ बोट र रम्य झाँकी ?
कठोर राँको कटु– क्रूरभित्र
भेट्ने कहाँ उन्नत शैलचित्र ?
गल्दै गएको किन स्वाभिमान ?
ढल्दै गएको किन वीर सान ?
को दूत आई घर छप्छपायो ?
यो आँत गाल्ने कुन दाँत आयो ?
शूली चढाईकन सन्तलाई
दिने बधाई कति चोरलाई ?
अन्यायमा मौन बसेर हुन्न
विवेकले दारुण यो सहन्न ।
गली पुरानो नव – शक्ति आयो
खोजेर सत्ता शिर चक्करायो
जप्ला बिरालो किन मन्त्रमाला ?
मुसा नखाई किन बाल्छ पाला ?
अकालको काल परै भगाऊँ
छ धूर्तको जाल सबै चुडाऊँ
डाक्नै छ बाँकी ऋतुको बहार
ताप्नै छ बाँकी दिनको पहार ।
तीर्थराज अधिकारी
गोरखा
(हालःसरस्वतीनगर,काठमाडौ)
(स्रोत : Samajkoawaj)