लघुकथा : अनधिकृत बस्ती

~रमेश विकल ~Ramesh Bikal

माथि लेकमा त्यस रात एक्कासी असिन्धारे पानी परेर त्यसको काखमा बसेको गाउँ बस्ती सोलोलो तुल्याए–पैरो गएर ! गाउँका बासिन्दा पैरामा पर्ने परि गए, उम्किएकाहरू बचाउन सकिएका धनमाल र बस्तुभाउ कुम्लोकुटुरो पारेर एक रात तल तराई बेसी झरे।
रातको बीचमा लेकतिरबाट बेसी झरेको बीसौं राँको देखेर भट्टे गाउँ विकास समितिको अध्यक्ष रविलाल ब. बगालेको आफ्नै औसारोमा सुतिरहेको चतुरे कार्कीलाई घचघचयाउँदै उठायो–“लेकतिरबाट झर्दै गरेका ती राँकाहरू के हुन् हेर हेर ”

चतुरे आँखा मिच्तै उठ्यो। उसले डाँडातिर हेरेर भन्यो– “अस्ति कता हुँदो लेक गाउँमा पैरो लागेर गाउँ सखाप पार्‍यो भन्थे, त्यही सुकुम्बासी होलान्, तराई झरेका।”

“हँ।” अध्यक्ष बगालेका अरिमठे जुँघाभित्र ओठमा एउटा कुटिल राजनीतिक मुस्कान फुट्यो। तर त्यो अँध्यारोमा कसैले देखेन। उसले भन्यो–“त चतुरे। बरा घरबास दैव लागेर घरबार लुटिएका जनतालार्य हामीले मद्दत गर्नुपर्छ।…तँ यसो गर, यिनीहरूलाई भट्टे जंगल फडानी गरेर बस्ती बसाउन सघाउ गर !”

अनि चतुरे कार्की र ऊ जस्तै अध्यक्षका अरू सहयोगीहरूले लेकबाट झरेका सुकुम्बासीहरूलाई बसाउन जंगल फडानी गर्न ठूलो मद्दत गरे। एक महिनाभित्रै भट्टे गाविसको हरिलोभरीलो घना बाक्लो भट्टा वन फाँडिएर बिसौं बिघा मलिलो धर्ती तयार भयो। अनि त्यहाँ बिसौं छाप्रँहरू खडा भए। वन फँडानी भएका रूख अग्राठहरू केही छाप्रा खडा गर्न खर्च भए भने धेरै जसो सीमा पारी पुगेर गाविस अध्यक्ष सदस्यका ढुकुटी मोटाए।

तर जे होस्, घरबाट पैरिएर विचल्ली परेका सुकुम्बासीले छहारी र गरिखाने माटो पाए र भट्टे गाविसको जयकार मनाए। यसरी एकाध वर्ष बिताए। त्यसपछि एक बिहान आफ्नो आँगनको डिलमा उभिएको अध्यक्ष बगालेले नयाँ बसेको सुन्दर र अनाम गाउँ र त्यसले चर्चेको बीसौं बिघा मलिलो धर्तीमा तीखा आँखा गाडेर नजिकै हात मल्दै उभिएको चतुरेसँग सोध्यो –“चतुरे कसो?… अब साइत ठीक भएन त?”

“भयो अधछे ज्यू।… ठिक्क बेला भयो ” चतुरेले हात मोल्दै भन्यो। त्यसको एक डेढ महिनापछि अनाम गाउँका सुकुम्बासीहरूका नाउँमा सरकारी पुर्जी आयो–“तपाईहरूले अनधिकृत रूपमा जंगल फंडानी गरी गाउँ बसाएको भन्ने गाविसको उजुरी परेकाले तुरून्त बस्ती खाली गरिदिनु होला। अन्यथा…”

अनि त्यसको एकाध महिनापछि बिहानीको घाम ताप्दै भट्टे गाउँको गाविस अध्यक्ष रविलाल बगालेले भर्खर सुकुम्वासी हटाइएको उजाड गाउँमाथि आफ्ना गिद्दे आँखा गाडेर नजिकै खुर्पाले कोदालाको बींड ताछ्न लागेको चतुरेलाई सम्बोधन गर्‍यो– “चतुरे !… अब त्यसलाई हाम्रा नाउँमा लम्बरी तुल्याउनु पर्छ। एकाध बिगाहा तँ पनि पाउलास् ! … कसो …मह काढेपछि हात चाट्नै पर्छ नि !”

चतुरे आफ्ना घोप्टा जुंघाभित्र कुटिल हाँसो हाँस्यो।

(स्रोत : बेदना पूर्णङ्क ६३–६४)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.