~दिव्य गिरी~
पुरानो काम नलाग्ने
चौबाटोमा फ्याँकिंदा
टुक्राटुक्रा र छरपष्ट
फुटेको घ्याम्पो जस्तै विभत्स
यो वर्तमान !
टपरीभरि खरानीको कालो डल्ला
छ्वालीको मुठो र काँचो हाँडी
रातो खुर्सानी र लसुनको पोटी
चिउराको भुस र आधा बलेका धूप-बत्तीहरू
चौबाटोमा मन्छिएको देखेर
भूत लाग्ला भनी
मान्छेहरू थु…थु… थुकेर हिँड्छन्
मान्छेहरू छेउ लागेर हिँड्छन्
हो दुरूस्त त्यस्तै
भूताहा चौबाटो भएको छ
यो वर्तमान !
न कसैको अधीनमा बसेको छ
न त कसैको आदेशमा चलेको छ
गुजुल्टिएको धागोको डल्लोझैँ
न छेउ भेटिन्छ
न त सँगाल्नै सकिन्छ
आफु भित्रभित्रै आफै अल्झिएको
अशान्ति, अन्याय, अभाव
र अन्यौलको भूमरीमा रूमल्लिएको
जर्जर अनि वर्वर
यो वर्तमान !
हत्या हिंसा र आतंकको ओदानमाथि
महत्वाकाँक्षाको हाँडी बसाली
विपनाको आगो बालेर
बन्दुकका कप्टेराहरूले
मान्छेका सपनाहरू भुटिरहेछ
मानवताको खिल्लि उडाउँदै
आतंक ! आतंक !! आतंक !!!
मात्र आतंकको उपहार दिइरहेछ
यो वर्तमान !
टीकाथली-५, ललितपुर, काठमाडौं
(स्रोत : कविता कुसुम)