~डा. कृष्ण पन्थी~
छन्द कविता
जाउँ दैलेख वा महोत्तरी तथा तप्लेजुङ्गै खोँचहोस् ।
खाउँ भात मकै मिठो र मसिनो फापर् ढिडो जे मिलोस् ।।
लाउँ एक् जोर जे जसोगरी हवस् नाङ्गो सबै छेकियोस् ।
नेपाली मन यो पुकार भगवान् नेपाल बाँचिरहोस् ।।
क्षेत्री होस् कि थकाली वा गुरुङ त्यो साथै बसेकै रहोस् ।
भाषा भेष फरक् फरक् किन नहोस् राष्ट्रियता एकहोस् ।।
रीति चाल चलन् फरक् किन नहोस् आत्मियता ब्याप्तहोस् ।
नेपाली मन यो पुकार भगवान् नेपाल बाँचिरहोस् ।।
खोज्दै सुख्ख र शान्ती जान्छ परदेश् किन्तु स्वदेश् मै मन ।
भौतारिन्छ यता उता सवतिरै गर्दै असन्तोष् मन ॥
पितृ-मातृ र राष्ट्रभक्ति मनमा अटुट जागृत् रहोस् ।
नेपाली मन यो पुकार भगवान् नेपाल बाँचिरहोस् ॥
पिजा वर्गर त्यो पराई मुलको जस्तो मिठै स्वाद होस् ।
जहाज् रेल मोटर् तथा अरु कुनै आरामको शान होस् ।।
आटो खान बहुत लाग्छ मन लौ पैदल् सफर् पाइयोस् ।
नेपाली मन यो पुकार भगवान् नेपाल बाँचिरहोस् ।।
ए. सि. गर्मी हुँदा छ हिटर सधै जाडो हुँदा गाथमा ।
हिड्नै पर्दन गाडी भ्यान छ सधै ल्याप्टप् छ फोन् साथमा ।।
आनन्दी मन किन्तु हुन्छ किन हो त्यै गाउँ घर् पाईयोस् ।
नेपाली मन यो पुकार भगवान् नेपाल बाँचिरहोस् ।।
अस्पत्ताल सफा छ स्कुल बहुत् राम्रो मजाको पनि ।
शिक्षा उच्च यहाँ छ स्वास्थ्य शुलभै स्वच्छै छ हावा पनि ।।
किन्तु फिर्दछ मन् सधै किन उतै आफ्नै मुलुक् पाइयोस् ।
नेपाली मन यो पुकार भगवान् नेपाल बाँचिरहोस् ।।
छोडी देश समाज आफु कसरी पर्देश् नराम्रो भनुँ ।
आफु बस्ने यहाँ कसोगरी तिमी पर्देश् न आउ भनुँ ।।
किन्तु मन् त किमार्थ बुझ्दन यहाँ स्वदेश नै पाइयोस् ।
नेपाली मन यो पुकार भगवान् नेपाल बाँचिरहोस् ।।
सक्छु के विचरो म गर्न कसरी इच्छा तिमी इशको ।
भोग्नु जे जसरी खटन् हुनगयो स्वीकार गर्दैन को ? ।।
ईच्छा कत्ती नी छैन बस्न अब लौ जस्तै यहाँ चैनहोस् ।
नेपाली मन यो पुकार भगवान् नेपाल बाँचिरहोस् ।।
आमा श्राप दिने कतै मन तिमी गर्छ्यौ कि भन्ने डर ।
मातृभूमी म फिर्दछु तिमी सँगै बस्छु म आफ्नै घर ।।
गर्छु स्यार सुसार मातृ अनि त्यो मातृभूमी पाईयोस् ।
नेपाली मन यो पुकार भगवान् नेपाल बाँचिरहोस् ।।
युनिभर्सिटी अफ टेक्सास, अस्टिन, अमेरिका
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )