~लाक्पा फुटी शेर्पा~
छेची घर पुग्दा अँध्यारै भएको थियो ।
उसलाई बाटाभरि पनि देण्डीले दिएको त्यो दुईतिर गोलो भएर माझमा सानो फित्ताले अड्काएको लुगाले तानिरह्यो । उसले टाउकोमा खप्ट्याएर लगाई । चस्मा जस्तो बनाएर लगाई ।
‘यो त पछाडि पो लाउँदा चिसोबाट बचिएला !’
पुठ्ठामा ख्वाप्प लगाउादा थुनचोली टम्म मिले ।
बाटोमा आफैं हाँसी ।
‘के गजब है !’
दङ्ग पनि परी ।
ऊ सरासर भर्याङ चढेर भान्सामा पुगी ।
‘आमा !’
‘आई आमा !’
छेची कराई ।
‘तल छु !’
ऊ फेरि तल झरी, देखिन आमालाई । फेरि बाहिर गएर कराई— ‘आई आमा !’
छेची सार्है कराएपछि आमाले माझको कोठाको मालिङ्गोको भकारीबाट मुन्टो निकालेर बाहिर हेरिन् ।
‘म त भकारी भित्र आलु मिलाउँदै छु ।’
आमाको बोली सुनेपछि छेची दगुरेर कोठामा पुगी ।
अँध्यारोमा आमा काम गरिरहेकी थिइन् ।
‘के देखेर, के काम गरिरहेको होला ?’
छेची हलुका रिसाई ।
आमा भकारी भित्रबाट बोलिन्— ‘आलु सबै बिग्रियो । त्यै छानेकी !’
‘यो वर्ष बीउको आलु पुग्दैन जस्तो छ ।’
छेचीले सुनी र उडाई आमाको चिन्ता ।
बेलाबखत आमाले पुरानो अन्नसँग नयाँको भेटघाट भएपछि मात्रै घरमा अन्नको सहज हुन्छ भन्ने गरेको कुरा पनि छेचीले अहिले सम्झी ।
ऊ टुसुक्क बसेर त्यो भोगटे आकारको लुगा हातमा झुन्डाइरहेकी थिई । उसको ध्यान पुरै त्यसमै थियो ।
‘आमा, यो लुगा तपैंलाई होला । मलाई त कतै पनि मिल्दैन !’
उसले छातीमा लगाएर हेरी ।
आमा गलल्ल हाँसिन् ।
‘मोटी, बूढीलाई त हुँदैन जस्तो छ । काँबाट ता लुरीलाई हुन्छ त अनि !’
आमा हाँसिन् मज्जैले ।
छेचीले च्याप्प आगालेर लुगा हेरिरही ।
‘कस्तो मीठो बास्ना !’
आमाले लुगा छोएर भनिन् ।
‘हो, सार्है मीठो बास्ना !’
छेचीले फेरि सुाघेर भनी ।
आमा यतिन्जेलमा बाहिर गइसकेकी थिइन् । छेची त्यो लुगामा नाक गाडेर बसिरहेकी थिई ।
‘मैले अहिलेसम्म लगाएकी छैन । मलाई मिल्दैन पनि, सुहाउँदैन पनि !’
आमाले बाहिरै बसेर भनिन् ।
भित्र ब्रा सुँघिरहेकी छेचीले आमाको कुरा सुनिरही । उसलाई त्यो लुगामा टाँसिएको गन्ध सार्है मिठो लाग्यो ।
‘तेरी कान्छी फुपूलाई दे । उनलाई मिल्छ होला ।’
आमाको बोली सुनियो ।
छेचीले एकपटक फेरि नाकमै लगेर सुँघी ।
ऊ अब डराई । आमाले कतै तुरुन्तै धुतिहाल्ने हुन् कि भनेर झसङ्गसँग अत्तालिई ।
‘सानी काकी पनि निकै मोटी छन् । उनलाई त्यो लुगा ठीक हुन्छ कि ! दिनु, काकीलाई दिनु !’
आमा बोलिरहेकी थिइन् ।
छेचीले हातमा लिएर त्यो लुगा फेरि ओल्टाई–पल्टाई हेरी । त्यसको रङ, बुट्टा, त्यसको सिलाई निकै गौण गरी हेरी । कम्मरमा बाँधी । छातीमा नापी । गोलाकार खाल्डोमा अनायासै हात घुसाई ।
यसो चिहाएर ढोका बाहिर हेरी ।
आमा पर हेरिरहेकी थिइन् लुक्लातिरको फाँटमा । आमाका हात खुट्टाका आंैलामा चल्मलाई रहेका थिए । छेचीले गहिरिएर हेरी आमालाई ।
‘यता सुन् त !’
आमाको बोलीले छेची झस्की ।
‘जेठी हजुरआमालाई देखा गएर !’
आमाले बोलिन् ।
‘कुइरेले दिएको टिप्स निकै महंगो हुन्छ । पाएको कोसेली सके लाउनु, नसके फटाएर नफाल्नु
।’
सुनिरही छेचीले ।
‘छेची, आई छेची ।’
‘हु !’
छेचीले यत्ति शब्द निकाल्न भ्याई ।
ऊ लुगामा रमाइरहेकी छ । ती दुई गोलाकार ब्रा को आकारमा उसको तनमन जोडिएको छ । त्यहीं हराइरहेकी छ ऊ ।
‘मैले नि लाए हुने । मनै लाग्दैन !’
छेचीले दुइटा घुँडामा अड्काएर हेरी रही ब्रालाई । पुक्क उठेका ब्रा हेरेर झन् त्यत्तिकै रमाई ।
आमाले बोलेको सुनी उसले— ‘त्यो पर घरकी काठमाडौंमा बस्ने याङजीले पनि यस्तै लुगा लाउँछे । त्यसलाई त सुहाएको थियो । निकै सुहाएको थियो !’
छेचीले यसो चिहाएर हेरी— आमा बख्खुको माथिल्लो भाग तन्काएर मिलाइरहेकी थिइन् ।
‘छेची त्यही याङजीलाई दे, त्यो लुगा । शहरका मान्छेले लगाउँछन् त्यस्तो लुगा ! मैले त खोलामा कुइरेनीले यस्तै लुगा लगाएकी देखेकी थिएँ ।’
आमाले फेरि पनि भनिन् ।
छेचीले मुखैमा गाडेर त्यसको गन्ध सुँघिरही …. सुँघिरही एकनासले ।
यतिखेर त आमाको बोली पनि उसले सुनिन ।
(शेर्पाको औपन्यासिक कृति ‘हिमालकी छोरी’को एक अंश । हिमाली परिवेशलाई समेटेर सत्य घटनामा आधारित यस कृतिले नारी संवेदनालाई विशेष प्राथमिकता दिएको छ ।)
(स्रोत : Himalayamail)