~जे.बी. शेर्पा ~
असमयमै समयले झुत्रो पारिएको अनुहार माझ ,
अझै सपना देख्न नछाडेका चम्किला आँखाहरु ,
अगाध मायाँ र स्नेहका मूलहरु सुमसुम्याउँदै,
कसैको फिर्ती आगमनमा,
भत्किएको आँगन को डिल देखि एक टक ,
उजाड उराठ गोरेटो मा पर पर सम्म,
विछ्याई रहन्छ हरेक याममा !
अनि ,बुढो रुख झैँ ठिंग ,
बेढंगका भै सकेका खस्रा र फुटेका हात् खुट्टाहरु लिएर ,
हरेक यामको आगमन लाई,
कसैको सु-कोमल यादहरुले बेरेर,
पठाई रहन्छ लपक्कै भिजेको संदेश,
संदेशमा अटाइ नअटाइ कोचिएका हुन्छन ,
सल्ला घारीको एक झोंक्का वतास,
वर पिपलको एक भारी छायाँ,
खोला खोल्छाको मुरी मुरी कलकल छङ् छङ्,
हिमालको एक मोहनी मुस्कान,
ध्वजा पताका र लुङ्दरहरु को अनगिन्ति फरफर ,
मन्दिर र गुम्बाहरुको टिङ् टिङ् ,
हलीको अलिकति हःह :ह:ह: !!
घांसी , गोठालो र चराहरुको केहि गीत,
यी सवैले एकै साथ,
भक्कानो छाडेर वह गाईरहेको हुन्छ ,
न हराउनुहै …!!! फर्की आउनुहै छकालमै …!!!
अनि,
आँखामा भोलिको सुनौलो सपनाहरु टलकाउँदै !
ति हात् खुट्टाहरुमा संजीवनी परे झैं फेरी,
त्यही उजाड उराठ गोरेटोहरुमा जुटी रहेका हुन्छन,
कसैको स्वागतमा, आशाका नयाँ पालुवाहरू खोज्दै , सुम्सुम्याँउँदै !
यो सवै तिम्रै निमित्त भै रहेको छ थाहा छ तिमिलाई ?
तर हरेक संदेश पछी,
एकाएक दिनहरु पट्यारलाग्दा र लामा बन्छन,
समय लामो तगारो बन्छ,
समय एक क्रुर सिमाना बनिदिन्छ,
उनीहरुको लागि !
शत्रु त समयनै हो ,
जो हरपल बाधक बनि दिन्छ ,
जो हरपल तिमि लाई बन्धक बनाई रहन्छ ,
बनाउन खोजि रहन्छ ,
धेरै भो तिमि अब ,
समयको बन्दि, किमार्थ हुन सक्दैनौ ,
वाध्यताको बन्दि हुन् सक्दैनौ ,
तिमि त्यहाँ फर्कनै पर्छ !
एकटक आँखाहरु बिछ्याएर
बिछोडिएका सवैले पर्खी रहेछन !
जब तिमि त्यहाँ पुग्नेछौ
वर्षौं देखि दिन दिन गन्दै मायाँ बाटेका डोरी हरु
दिन दिन गन्दै सपना बुनेका आँखा हरू
र छाँद हाल्न आत्तुर कम्पित हातहरु ले बाँधीनेछौ !
अनि फेरी
मन्द बतासमा , माटोमा ,
धुवाँ मा धुलोमा ,झरीमा , हिलोमा
खोलाको एकनास सुसाइमा घुलिएको,
आफ्नै माटोको सुवास हरुले गर्ल्याम्म अंगालो हाल्दा ,
विर्सिएर विगत , विर्सिएर भविस्य,
हर्षविभोर तिमि ,
आमाको काखमा एकाएक फेरी चुलबुले बन्दा ,
समय स्थिर पाउनेछौ , वर्तमान रोकिनेछ टक्क ,
बन्धक बन्नेछ समय,
हो त्यहिनैहो तिम्रो स्वर्ग !
– जाङबु (जे.बी.) शेर्पा
एंटवर्प , बेल्जियम