~सिन्धु गौतम~
सगुन बारम्बार एस्.एम्.एस्. गरिरहन्थ्यो तर सृष्टिबाट त्यसको प्रत्युत्तर कमै मात्र हुन्थ्यो । समय बित्दै जाँदा दुवै जनाबाट बराबर जस्तै एस्.एम्.एस्. हुन थाल्यो । साँच्चैभन्दा त एस्.एम्.एस्. दोहोरी नै हुन्थ्यो । एक पटकको शृङ्खला १३/१४ एस्.एम्.एस्. सेवाबाट मात्रै टुङ्ग्यो तर मन नलागिनलागी टुङ्ग्याउनु पर्ने बाध्यताले ।
फोनमा बोल्दा सबैलाई थाहा हुने, सबै कुरा खुलेर भन्न नपाइने/नसकिने हुँदा एस्.एम्.एस्. ज्यादै उपयोगी अझ भनौँ सजिलो उपाय नै बन्यो । फोनमा त तीन, चार पटक मात्र, त्यही पनि छोटो वार्ता भएको छ उनीहरूको । खासगरी रातमा नै हुने गर्थ्यो उनीहरूको एस्.एम्.एस्. वार्ता सधैँ तर खै किन हो कहिले कहिले एस्.एम्.एस्. दोहोरी दुई-तीन दिनलाई स्थगितजस्तै पनि हुन्थ्यो । त्यसपछि फेरि उही प्रक्रियाले निरन्तरता लिन्थ्यो । दिनभरि के कस्तो भएर बित्यो । कसले केके गर्यो, दुवैले दुवैलाई सुनाउनै पर्थ्यो सधैँ । अफिस छुट्टै तर एउटै प्रकृतिका भएर होला कामका सल्लाह पनि हुन्थे । धेरै त उनीहरू एक अर्काकै कुरा गर्थे, जीवनका कुरा, जिउने तरिकाका कुरा, सबै अनि सबै कुरा भन्न सकिने कुरा । समाहित कुरा ।
देखभेट बिनाको यान्त्रिक संवाद पनि यस्तो हुन्थ्यो कि धेरै पहिलेका घनिष्ट परिचितजस्तो । यान्त्रिक घनिष्टताभन्दा कम थिएन । यान्त्रिक सम्बन्धभन्दा माथि उठ्न मन लाग्यो दुवैलाई । बिदाको दिन, शनिबार दुवैलाई छुट्टी हुने दिन भेट हुने चाँजोपाँजो दुवैलाई पायकपर्ने पार्कमा मिलाए । सायद विज्ञानले मोबाइल नबनाइदिएको भए उनीहरूको भेट हुने थिएन होला ।
भोलिको प्रतीक्षा दुवैमा अधैर्य भएको थियो । रात पनि ननिदाई बित्यो दुवैको । भोलि या भनौँ उनीहरूले भेट्नका लागि तय गरेको दिन । सही ठाउँ र सही समयमै दुवै आइपुगे । अधैर्यका साथ । दुवैले दुवैलाई चिने त्यत्रो भीडमा पनि । यान्त्रिक प्रणयले चिने तर त्यहाँ एस्.एम्.एस्. मा जस्ता सहज कुरा भएनन् । परिस्थिति एस्.एम्.एस्. माझैँ रमणीय भएन । दुवैलाई के बोल्ने, के बोल्ने भयो । एक्कासि दुवैका आँखा एक-अर्काको शरीरको एउटै अङ्गमा टक्क अडियो । मानौँ समय नै रोकियो । दुवै ओइलाए । एक्लाएक्लै तर दुवैले देखे-दुवैको दाहिने हातको साइँली औँलाको औँठी …..।
हाल ः चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान
वीर अस्पताल, काठमाडौँ ।
(स्रोत : मधुपर्क २०६७ कात्तिक)