~इस्माएल सुब्बा~
ढुङ्गालाई सोध,
पानीलाई सोध,
र सोध हावालाई पनि।
अफ्रिकाको ढुङ्गालाई सोध्नु
कि त्यसमा र
इजिप्टको ढुङ्गामा के छ र फरक?
के त्यो दुवै मिलेर बनाउन सक्दैनन् र
एउटा सुन्दर घर??
सोध्नु टिस्टा-रङ्गीतलाई
के तिनीहरूको मिलन
असम्भव छ र?
अथवा सोध्नु
इण्डियन ओसन र पेसिफिकलाई
के माग्छन एकपटक
तँ कहाँको प्रमाणपत्र
माछालाई?
अनि सोध्नु हावालाई पनि
किन बाड्छ जिवन
सारा विश्वभरी,
सोध्नु तेरो जात के हो???
हो सोध्नु घामलाई
कि किन दिन्छन् प्रकाश
वा सोध्नु हावालाई
किन दिन्छन् शितलता
यहाँ देखि
म कहिले नपुगेको
दुर्गम क्षेत्रसम्म,
अथवा सभ्य शहरसम्म।
सोध्नु एकचोटी बाघलाई
कि कहिले सोधेको छ
त्यसले
आफ्नो शिकारको नशल?
सोध्नु चरालाई पनि
कि कहिले सोध्छ त्यसले
मित्रता गास्नँ भन्दा अघि
अर्को चरालाई जात?
नबिर्सि सोध्नु गुलाबलाई पनि
कि त्यसले प्रेम फैलाउन अघि कहिले निकाल्छ
जातको गफ,सोध्नु बाटोलाई
कि कहिले सोधेको छ
त्यसले तिम्रो पुर्वजहरूको संस्कृती,
अथवा सोध्नु विचारहरूलाई
कि कहिले सोधेको छ
त्यसले मस्तिष्कको धर्म??
सोध्नु उसलाई,सबलाई
बंजर भूमीमा
भौतारिरहेको बेला
एउटा अर्को मान्छे भेट्दा
अथवा सहयोग लिन अघि के सोध्छौ उसको जात??
सोधी सक यी सबै
र अब सोध्नु नबिर्सि आफैलाई
ओइ,मान्छे!
तेरो जात के हो हँ???
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )